कोरोनासँग डराएका शिक्षक भन्छन्- विद्यार्थी खोक्दा तर्सन्छौं

तस्बिर : सेतोपाटी

राजेश घिमिरे

कोरोनाभाइरसको संक्रमण फैलन नदिन भन्दै बन्द गरिएका धेरै विद्यालय अझै पनि खुलेका छैनन्। सरकारले विद्यालयमा जम्मा गरेर नभई वैकल्पिक विधिको प्रयोग गरेर पढाइ सञ्चालन गर्न निर्देशन दिएको थियो।

सहरी क्षेत्रका अधिकांश विद्यालयहरूले अझै पनि अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने गरेका छन्। ग्रामीण क्षेत्रका विद्यालयले भने वैकल्पिक शिक्षाका लागि आवश्यक स्रोतको अभावमा महिनौंदेखि जोखिम मोलेर पठनपाठन सञ्चालन गर्दै आएका छन्।  

एफएम रेडियो, टेलिभिजन, कम्प्युटर, अनलाइनलगायतका मध्यमबाट कक्षा सञ्चालन गर्न सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो।  

ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी यी कुनै पनि साधनको पहुँचमा छैनन्। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको शिक्षा शाखाकाअनुसार गाउँपालिकाले ४० विद्यालयका ४ हजार ५६८ जना विद्यार्थीमा गरेको सर्वेक्षणमा इन्टरनेटमा ३.३ प्रतिशतको मात्र पहुँच रहेको देखिएको थियो।

घरमा टेलिभिजन भएका १९० जना र सूचना प्रविधिको कुनै पनि पहुँच नभएका ८९८ जना विद्यार्थी भेटिएका थिए।

उक्त सर्भेक्षणअनुसार पहाडी क्षेत्रमा अध्ययनरत बालबालिकामध्ये ४५ प्रतिशतभन्दा बढी एफएम-रेडियोको पहुँचमासमेत छैनन्। बाँकी ५५ प्रतिशत बालबालिकाका अभिभावकसँग एफएम सुन्न मिल्ने रेडियो-मोबाइल छन्। 

प्रकाशित मिति: : 2020-11-26 12:06:00

प्रतिकृया दिनुहोस्