राजाले मात्र रेफ्रीको भूमिका निर्वाह गर्न सक्छन्: पूर्व जलश्रोत मन्त्री ज्ञवली (भिडियाेसहित)

सत्तारुढ नेकपाका नेताहरू शक्ति संघर्षमा लागेको बेला राजधानी काठमाडौंमा सोमबार राजावादी समूहले राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्दै र्‍याली निकालेका छन्। 

यसै साता झापा, मोरङ, मकवानपुर, बुटबल र नेपालगञ्जमा ‘गणतन्त्र र संघीयता’ विरोधी जुलुस निस्किएको अवस्थामा राजधानीमा निकालिएको जुलुसलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेको छ। 

नेपाल सरकारले आइतबार मात्र राजावादीहरूको जुलुसमा सहभागी नहुनुभन्दै जनतालाई आवहान गरेको बेला सोमबार बिहानैदेखि काठमाडौंको विभिन्न ठाउँबाट राष्ट्रिय झण्डा बोकेर राजावादीहरूले र्‍याली निकाले। राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी हुन आएका केही व्यक्तिलाई प्रहरीले बीचमा रोक्ने प्रयास गरेको थियो। 

पूर्वराजा ज्ञानेन्द्रको शाहीकालमा जलश्रोत मन्त्री रहेका दीपक ज्ञवालीले नेपालमा एउटा ‘पोलिटिकल–रेफ्री’ को आवश्यकता रहेको बताउँदै त्यो काम राजसंस्थाबाट मात्र सम्भव हुने बताए। 

उनले र्‍यालीमा सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा भने, ‘अहिले पार्टीले खेल खेलिरहेको छ। खेल खेल्दा रेफ्रीको आवश्यकता पर्नेगर्छ। त्यो रेफ्रीको भूमिका राष्ट्रपतिले निर्वाह गर्नुपर्ने हो। तर, सक्नु भएन। अब रेफ्रीको भूमिका निर्वाह गर्न राजसंस्था नै चाहिन्छ।’

यस्तै, शाहीकालका अर्का मन्त्री श्री शमशेर राणाले पनि नेपालबाट राजतन्त्र हटाउनु दुःखद भएको बताए। शाहीकालमा सूचना तथा संचार मन्त्री बनेका राणाले राजातन्त्रलाई हटाउँदा देशको अवस्था बिग्रिएको बताए। ‘देश बिग्रिनुमा राजाको होइन, पार्टीको हात छ,’ उनले भने। 

उनले पार्टीका चार जना नेताहरू मिलेर बनाएको व्यवस्थाका कारण देश बिग्रिएको आरोप लगाए। उनले जनतालाई नसोधी राजा निकाल्दा देश बिग्रिएको बताए। अहिलेको अवस्थामा प्रधानमन्त्री नै राजा भएको उनको भनाई थियो। ‘अहिले मुलुकमा भ्रष्टाचार बढिरहेको छ। सरकारले नै भ्रष्टाचार गरिरहेको छ। उनीहरूलाई केही कानुन लाग्दैन,’ उनले आरोप लगाए। 

पूर्व जलश्रोत मन्त्री दीपक ज्ञवालीले विदेशी शक्तिसँगको सम्झौंतामा गणतन्त्र स्थापना गर्दा देशको अवस्था नाजुक भएको बताए।
‘सरकारकै कारण मुलुक अहिलेको अवस्थामा पुगेको हो, सरकार भारु र युरोको प्रलोभनमा फस्यो,’ उनले आरोप लगाए।  

नेपालमा सात राजनीतिक दल र बिद्रोही माओवादी पक्षबीच २०६३ सालमा बृहत शान्ति–सम्झौंता भएर गणतन्त्र स्थापना भएको थियो। तर, सोमबारको र्‍यालीमा गणतन्त्र धोका भएको नारा सुनियो। 

राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले आयोजना गरेको कार्यक्रममा ‘राजा आऊ, देश बचाऊ’, ‘संघीयता खारेज गर’, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन्’, ‘भ्रस्ट सरकार मुर्दाबाद’, ‘राष्ट्रिय एकता जिन्दावाद’, ‘तस्करी गिरोह नियन्त्रण गर’, ‘गणतन्त्र खारेज गर, राजसंस्था कायम गर’ जस्ता नारा लागेको थियो। 

राष्ट्र बचाउन आफूहरू सडकमा उत्रिएको राष्ट्रिय शक्ति नेपालकी अभियन्ता तथा केन्द्रिय सदस्य नानीमैया परियार भुसालले बताइन्। 
कार्यक्रममा पूर्व पञ्च, कांग्रेस र एमालेका पूर्व नेता तथा कार्यकर्ताको पनि उपस्थिति थियो। उनले पछिल्लो समय नेपालमा भ्रष्टाचार बढेको, विदेशी चलखेल चुलिएको र नेताहरूबीच आपसी भागबण्डाका कारण मुलुक संकटमा पुगेको भन्दै आफूहरू सडकमा उत्रिनु परेको बताइन्। 

‘नेपालमा राष्ट्रपति महिला हुँदा खुसीले गद्गद् भएको थिए,’ उनले भनिन्, ‘तर, देशमा सुशासन र महिलाले न्याय पाएनन्। अहिले थेग्नै नसक्ने गरी महिलामाथि अन्याय भएको छ। चेलिबेटी बलत्कार भएका छन्। कसैलाई कार्यवाही भएको छैन।’  

यस्तै अर्को सदस्य रुपसिंह थापा मगरले राजसंस्थाको पक्षमा र्‍याली गर्नुको कारण बताउँदै भने, ‘सरकारले जनतालाई न्याय दिन नसकेको कारण पुनः राजसस्था चाहिएको हो। हामीलाई न्यायको खाँचो छ। न्याय पाउनका लागि राजसस्था चाहिन्छ।’

उनी हालको सरकार पहुचवाला विदेशीको इसारामा चलेको बताउँछन्। ‘हामीले मात्र नभई सबै जनताले नेपाल आमालाई जोगाउनुपर्छ। नेपाल नरहे नेपाली रहदैनन्,’ उनले भने, ‘देश जोगाउन राजा चाहिएको हो।’ 
अर्का केन्द्रिय सदस्य श्याम केसीले देश चलाउँछौं भनेर जनतालाई थिचोमिचो गरेको आरोप लगाए। ‘सरकार चलाउँछु भनेर देशलाई लुटेर खाने काम मात्र भयो। जनता बिचल्लीमा परेका छन्,’ केसीले बताए। 

उनले हालका नेताहरूले पृथ्वी नारायण शाहले एकताबद्ध बनाएको देशमा १७ हजार नेपालीको ज्यान लिएर लाखौं जनतालाई विदेश जान बाध्य बनाएको आरोप लगाए। उनले नेपाललाई सार्वभौम बनाउन राजसंस्था नै चाहिने दावी गरे। भने, ‘राजसंस्था बिना मुलुक सम्भव छैन।’
राजावादीहरूले मंसिर २० मा अर्को र्‍याली निकाल्ने तय भएको छ। त्यसको लागि सोमबार भएको र्‍यालीलाई ‘वार्म–अप’ को रूपमा लिइएको छ। 
 

प्रकाशित मिति: : 2020-11-30 18:57:00

प्रतिकृया दिनुहोस्