प्राविधिक शिक्षा: आत्मनिर्भर जीवनको आधार, समृद्ध राष्ट्रको मेरुदण्ड

Break n Links
Break n Links

शिक्षा भन्नासाथ हामी डिग्री, प्रमाणपत्र र चिट्ठा सम्झन्छौं। तर, के ती कागजका टुक्राले जीवन धानिन्छ? के ती अक्षरहरूले मात्र पेट भरिन्छ?

शिक्षा केवल डिग्री प्राप्तिको साधन होइन, जीवनलाई बदल्ने शक्तिशाली हतियार हो। तर आजको विज्ञान, प्रविधि र प्रतिस्पर्धाको युगमा केवल किताबी ज्ञानले मात्र जीवन र राष्ट्र निर्माण सम्भव छैन। अहिलेको आवश्यकता व्यवहारिक, उत्पादनमुखी र सीपमा आधारित प्राविधिक शिक्षा हो- जुन शिक्षाले आत्मनिर्भरता, उद्यमशीलता र सम्भावनाको ढोका खोलिदिन्छ।

आज हजारौं नेपाली युवा विदेशिएका छन्- सपनाको खोजीमा, भविष्यको भरोसामा। तर त्यो यात्रा सजिलो छैन। ५० डिग्रीको गर्मीमा पसिना बगाउँदै, भाषा नबुझिने ठाउँमा अपमान सहँदै, अनि घर सम्झिँदा रातभर आँखा नझम्किँदा- लाग्छ, के यही हो जीवन?

साच्चै भन्ने हो भने, डिग्री होइन, सीप नै हो आजको युगको असली शक्ति। जसको हातमा सीप छ, उसले संसारको जुनसुकै कुनामा आफ्नो पहिचान बनाउन सक्छ। हातमा सिप छ भने, दालभात मात्रै होइन, सपना पनि पकाइन्छ। जीवनले अर्थ पाउँछ, आत्मबल जाग्छ।

आजको विज्ञान, प्रविधि र प्रतिस्पर्धाको युगमा केवल किताबी ज्ञानले मात्र जीवन र राष्ट्र निर्माण सम्भव छैन। अहिलेको आवश्यकता व्यवहारिक, उत्पादनमुखी र सीपमा आधारित प्राविधिक शिक्षा हो- जसले आत्मनिर्भरता, उद्यमशीलता र सम्भावनाको ढोका खोलिदिन्छ। यही सपना साकार बनाउने माध्यम हो- प्राविधिक शिक्षा। यो त्यस्तो शिक्षा हो, जसले केवल किताब पढाउँदैन, ‘म केही गर्न सक्छु’ भन्ने आत्मबल दिन्छ।

नेपालमा ०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)ले लाखौं युवालाई नयाँ जीवन दिने काम गरिरहेको छ। कृषि, स्वास्थ्य, सूचना प्रविधि, ल्याब टेक्नोलोजी, नर्सिङ, इन्जिनियरिङ, होटल व्यवस्थापन, औद्योगिक तालिम जस्ता क्षेत्रमा सीपमूलक तालिम दिँदै, युवालाई कामदार होइन- उद्यमी, नेता र परिवर्तनकर्ता बनाउन तल्लीन छ। यो धारले केवल सीप मात्र सिकाउँदैन, व्यक्तिको आत्मबल, आत्मनिर्भरता र उद्यमशीलता पनि विकास गर्छ। हातमा सिप भएको मान्छे कहिल्यै भोको मर्दैन- यो कथन आजको यथार्थ हो।

प्रिय विद्यार्थीहरू, तपाईंहरूको भविष्य केवल डिग्रीमा होइन- सीपमा छ। ‘हातमा सिप, मनमा सपना’ लिएर अघि बढे भने तिमीहरू संसारका जुनसुकै कुनामा पनि प्रतिस्पर्धा गर्न सक्नेछौ। आज मानौं तिमी ल्याब टेक्निसियन हौ, भोलि यही सीपले तिमीलाई अन्तर्राष्ट्रिय कम्पनीको नेतृत्वमा पुर्‍याउन सक्छ।

तर यथार्थ कठोर छ। देशभर १५०० भन्दा बढी प्राविधिक शिक्षालयहरू भए तापनि अझै पनि गुणस्तर, प्रशिक्षकको अभाव, पूर्वाधारको कमजोरी र व्यावहारिक तालिमको सीमितता जस्ता चुनौतीहरू छन्। समाजमा डिग्रीप्रति मोह, सीपको उपेक्षा, अनि ‘CTEVT पढेको त केही होइन’ भन्ने दृष्टिकोणले अझै प्राविधिक धारको सम्मान घटाइरहेको छ।

शिक्षा प्रणालीभित्र फैलिएको शैक्षिक माफिया, दलाल, र फर्जी गिरोहहरूले ‘नाम निकालिदिन्छु‘ भन्दै विद्यार्थी ठगिरहेका छन्। यसले केवल सीपको शिक्षा मात्र होइन, भविष्यकै हत्या गरिरहेको छ। र सीटीईभीटी प्रति मान्छेको वितृष्णा र दीर्घकालीन असर पुर्याइरहेको छ।

अब प्रश्न उठ्छ- किन सीपयुक्त जनशक्तिलाई देशभित्रै रोजगारीको सुनिश्चितता छैन? किन विदेशमा नेपाली नर्स, फार्मासिस्ट, ल्याब टेक्निसियन, इन्जिनियरहरूले सम्मान पाइरहेका छन् तर यही देशमा बेरोजगार छन्? यो त विडम्बनाको चरम हो- जहाँ सीप उत्पादन हुन्छ, त्यहीँ रोजगारी छैन।

अब नीति स्पष्ट, योजना व्यवहारिक, र प्रतिबद्धता दृढ हुनुपर्छ। ‘एक व्यक्ति, एक सिप’, ‘एक पालिका, एक प्राविधिक शिक्षालय’, ‘एक टोल, एक उद्यम’ को व्यवहारिक कार्यान्वयन जरुरी छ। शिक्षालयहरूको गुणस्तर सुधार, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, OJT (On-the-Job Training) को व्यापकता, उद्योगसँग सहकार्य, र सीपयुक्त जनशक्तिका लागि रोजगारी ग्यारेन्टी कार्यक्रम आवश्यक छन्।

यी कुराहरूले मात्र सीपलाई सम्मान, युवालाई भविष्य, र राष्ट्रलाई आत्मनिर्भरता दिनेछन्।

नेपालसँग सम्भावना छ- केवल अब चाहिएको छ, दृढ प्रतिबद्धता, योजनाबद्ध नेतृत्व र सीपको सम्मान। यिनै माध्यमले हामी आत्मनिर्भर जीवन र समृद्ध राष्ट्रतर्फ अघि बढ्न सक्छौं।

अन्त्यमा:

‘सीप भनेको केवल काम होइन, त्यो आत्मसम्मान हो। सीप भनेको केवल हातको गति होइन, त्यो सपनाको यात्रा हो। र, सीप भनेको केवल जागिर होइन, त्यो राष्ट्र निर्माणको जग हो।’

हातमा सिप राखौं, मनमा सपना सजाऔं- र आफ्नै देशमा सम्भावनाको संसार बनाऔं। प्राविधिक शिक्षा रोजौं- आत्मनिर्भर जीवन बनाऔं, समृद्ध राष्ट्र बनाऔं।

प्रकाशित मिति: : 2025-07-06 20:10:00

प्रतिकृया दिनुहोस्