न्याय विभागले भन्यो– चुनावमा धाँधलीको प्रमाण भेटिएन

राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो नोभेम्बर ३ मा भएको चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले बताएका छन्।

ट्रम्पले आफू पराजित भएपछि धाँधलीको आरोप लगाइरहेका थिए। तर न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई सत्य सावित गर्ने कुनै पनि प्रमाण फेला नपारेको महान्यायाधीवक्ता बारले बताए।

बारले भनेका छन्, ‘अहिलेसम्म कुनै पनि ठूलो स्तरको धाँधली वा अपारदर्शिता देखिएको छैन।’

महान्यायाधीवक्ता बारले कुनै पनि प्रमाण नभेटिएको जानकारीसहितको वक्तव्य जारी गरेपछि मंगलबार ट्रम्पले लगातार ट्वीट गरेर प्रमाण बिना चुनावमा धाँधली भएको पुनः आरोप लगाए।

विभिन्न राज्यले नोभेम्बर ३ को चुनावमा राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् ।

वाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ । पराजित भएका ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेका छ ।

पपुलर मत (कुल मत) मा वाइडेन ट्रम्प भन्दा कम्तिमा ६२ लाख मतले अघि छन् ।

प्रकाशित मिति: : 2020-12-02 07:54:00

प्रतिकृया दिनुहोस्