एक प्रहरी अधिकृतको आध्यात्मिक जीवनशैली

अनलाइनखबर

काठमाडौँ

चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, ठगी किन हुन्छ ? सरसर्ती विश्लेषण गर्ने हो भने यसका अनेक गुप्त कारण फेला पर्छन् । उपत्यका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आफ्नो कार्यकालमा थुप्रै अपराध केलाएका छन्, अपराधीको मनोवृत्ति खोतलेका छन् । यसबाट उनले एउटै निचोड निकालेका छन्, ‘जहाँबाट मान्छेले आफ्नो संस्कार लत्याउँछ, त्यहीँबाट नैतिकता र निष्ठाको मृत्यु हुन्छ । तब मान्छे अपराधकर्म गर्न समेत पछि हट्दैन ।’ अपराधको आवरण जस्तोसुकै देखिएपनि यसको गुदी भने आफ्नो धर्म–परम्परा र संस्कारबाट बिचलन हुनु नै हो ।

धर्म–परम्परा एवं संस्कारले मान्छेलाई आत्मानुसासित बनाउँछ । आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्ने विधि सिकाउँछ । नैतिकता, निष्ठा, इमान र सत्यको धरातलमा बाँच्न प्रेरित गर्छ । पोखरेललाई यस्तै लाग्छ । उनी भन्छन्, ‘अहिले जे जति अपराध भइरहेका छन् त्यसको खास कारण भनेकै हामी आफ्नो धर्म–परम्परा र संस्कारबाट विमुख हुनु हो ।’

उनी आध्यात्मिक प्रवृत्तिका छन् । धर्म–संस्कारमा गहिरो आस्था छ । पोखरेलको दैनिकी पूजापाठबाट सुरु हुन्छ । मन्दिर धाउँछन् । उपवास बस्छन् । भक्ति आराधना गर्छन् । उनलाई आत्मिक शान्तिका लागि यो नै उत्तम विधी हो भन्ने लाग्छ । अध्यात्मले जीवन र जगतलाई नजिकबाट बुझ्ने अवसर दिन्छ । जब मान्छेलाई आफ्नो जीवनको सत्य बोध हुन्छ, उनमा अनावश्यक महत्वकांक्षा, कुष्ठा, गुनासो केही पनि रहँदैन । आफ्नो कर्म र प्राप्तिमा सन्तोष गर्छ । तब मान्छे विनयी र विवेकवान् बन्छन् । पोखरेल यसै भन्छन् ।

प्रकाशित मिति: : 2020-12-02 21:01:00

प्रतिकृया दिनुहोस्