मात्रै एक सय दिन मास्क लगाउनुस्, सधैँका लागि होइन: वाइडेन

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनले सबै अमेरिकीलाई १०० दिन मास्क लगाउन आग्रह गरेको छन्। 

आफ्नो कार्यकालको पहिलो १०० दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन उनले आग्रह गरेका हुन्। 

वाइडेनले भनेका छन्, ‘मैले सत्ता सम्हालेको पहिलो दिनमा सबै नागरिकसँग १०० दिन मास्क लगाउन आग्रह गर्ने छु। मात्रै एक सय दिन, सधैँका लागि होइन।’

अमेरिकामा कोरोना संक्रमणकै कारण २ लाख ८२ हजार ७४८ जनाको मृत्यु भएको छ। संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १७ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।

बिहिबार २ लाख ६ हजार ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दुई दिन यता संक्रमितको संख्या २ लाखभन्दा बढी देखिन थालेको छ।

पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४५ लाख ३४ हजार ६०६ पुगेको छ।

वाइडेनले भनेका, ‘हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास छ।’

सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन्।

‘बस, रेल, जहाजसहितका यातायतका साधनमा चढ्दा तथा सरकारी भवनमा जाँदा मास्क लगाउनु पर्ने नियम ल्याउने छु,’ उनले भनेका छन्, ‘खोपसँगै मास्क पनि लगाइयो भने संक्रमण कम गर्न सकिने छ।’ 

नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका वाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन्।

तर संविधानका ज्ञाताहरुका अनुसार अमेरिकी राष्ट्रपतिसँग मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन। यसअघि राष्ट्रपति डाेनाल्ड ट्रम्पले मास्क अनिवार्य नगरिएकाे बताएका थिए। उनी चुनावी र्‍याली र सभाहरुमा समेत बिना मास्क उपस्थिति भएका थिए। 

उनी लगायत ह्वाइट हाउका उच्च अधिकारीहरुलाई पनि काेराेना संक्रमण भएकाे थियाे।

प्रकाशित मिति: : 2020-12-04 08:17:00

प्रतिकृया दिनुहोस्