बिना खनजोत गहुँखेती

प्रविधिको प्रयोगबाट चितवनमा बिना खनजोत गहुँखेती गर्न शुरु गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा भरतपुर महानगरपालिका–५ मा करिब ८० बिघा जमिन बिना खनजोत गहुँखेती शुरु गरिएको हो।

जिरो टिलेज मेसिनको प्रयोग गरी गहुँखेती गरिएको कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत एवं बिना खनजोत गहुँखेती प्रविधिका फोकल पर्सन उमराज अर्यालले जानकारी दिए। चितवनमा प्रविधि पहिल्यै भित्रिसकेको भए पनि यो प्रविधिबाट गहुँखेती पहिलोपटक गरिएको उनले बताए। चितवनमा धान ढिलो पाक्ने र कृषकलाई पनि पटकपटक खनजोत गर्दा थप समय लाग्ने हुँदा कम लागत र राम्रो उत्पादन हुने भएकाले बिना खनजोत गहँुखेती प्रभावकारी हुने अर्यालको भनाइ छ।

बिना खनजोत गहुँखेती गर्ने प्रविधिका लागि प्रदेश सरकारले रु २१ लाख बजेट विनियोजन गरेको छ। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि यो कार्यक्रम सञ्चालनमा छ। भरतपुरको कैलाश कृषक समूहका अध्यक्ष नीलविक्रम मल्लले भरतपुर–५ मा ८० बिघामा गहुँखेती गर्ने योजनाअनुरुप काम भइरहेको बताए। यस वर्ष विभिन्न कारणले ढिलाइ भएकाले बिहीबार सरोकारवालाको उपस्थितिमा नमूना प्रदर्शनी गरिएको जानकारी दिए।

“कृषकहरु उत्साहित हुनुहुन्छ, अर्को वर्षदेखि सिँचाइ भएको ठाउँमा यही प्रविधिबाट गहुँखेती गर्ने सोचेका छौँ”, उनले भने। यो प्रविधिबाट खेती गर्दा खनजोत गर्न नपर्ने, मलखाद तथा बिजमा समेत बचत हुने भएकाले किसानलाई लाभ मिल्ने छ। यो प्रविधिले किसानको समयको बचत र लागत खर्चसमेत कम हुने कृषि प्राविधिकको भनाइ छ।रासस

प्रकाशित मिति: : 2020-12-04 11:01:00

प्रतिकृया दिनुहोस्