प्रचण्डले स्थायी कमिटी बैठकमा भने, ‘म पनि त्याग गर्न तयार छु’

नेकपा विवाद सहमतिको मार्गमा:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि त्यागका लागि तयार भएको बताएका छन् । 

नेकपाका स्थायी कमिटीका एक सदस्यले दिएकाे जानकारी अनुसार पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दा प्रचण्डले यस्तो बताएका हुन् ।  ‘देशमा आएको परिवर्तन जोगिएन भने  हाम्रा पदहरु जोगिँदैनन् । त्यसो भएकाले त्याग गर्न तयार हुनुपर्छ । म पनि तयार छु’, प्रचण्डले भनेका थिए । पार्टी एकता जोगाउन र राजनीतिक उपलब्धि जोगाउन जोकोही पनि त्याग गर्न तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो ।

नेकपाका पहिलो वरियताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको उक्त बैठकमा प्रचण्ड एक्लैले सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री ईश्वर पाेखरेलले ओलीको पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रचण्ड बोलेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले ३५ पेजको लिखित प्रस्तावमा नै आफू महाधिवेशनबाट अध्यक्ष त्याग गर्ने र आगामी चुनावपछि प्रधानमन्त्री नहुने बताइसकेका छन् । प्रचण्डको भनाइले नेकपाको विवाद नेतृत्व हस्तान्तरणको बाटोमा अघि बढ्ने गरी सहमतिमा पुग्ने संभावना बढेको छ ।  

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई दुवै अध्यक्षका राजनीतिक प्रस्तावहरु र यसबीचमा भएका पत्राचारलाई बैठकको एजेन्डा हुने बताएका थिए । प्रधानमन्त्री ओलीले भने बैठकको एजेन्डा नै तय नभएको बैठकको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेका थिए ।

ओलीको असहमतिका बाबजुद बसेको बैठकको एजेन्डाका रुपमा दुई अध्यक्षका प्रस्ताव राखिएन । नेकपा बैठकको एजेन्डामा ‘आन्तरिक समस्याबारे’ भन्ने राखिएको छ। 

नेकपा स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने भएको छ । यसबीचको समय सहमतिका लागि आन्तरिक गृहकार्यमा खर्च गर्ने तयारी छ । नेकपा केन्द्रीय कमिटीको बैठक भने पुस ५ गतेका लागि सारिएको छ ।

प्रकाशित मिति: : 2020-12-06 16:30:00

प्रतिकृया दिनुहोस्