‘पार्टी विभाजन रोक्न कम्तिमा चार विषयमा ‘प्याकेज’मा सम्झौता गर्नुपर्छ’

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

नेकपा स्थायी कमिटि सदस्य एवं गण्डगी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्कर्षमा पुगेको नेकपा विवाद समाधानका लागि कम्तिमा चार विषयमा ‘प्याकेज’मा सम्झौता गर्नुपर्ने विकल्प अघि सारेका छन्।

सोमबार देश सञ्चारसँगको अन्तर्वार्तामा नेता गुरुङले विवादमा मुछिएका दुवै पक्षले ‘प्याकेज’मा सम्झौता गरेको खण्डमा विभाजनको डिलमा पुगेको पार्टी एकताको रक्षा हुने निष्कर्ष सुनाएका हुन्।

यो आफ्नो निष्कर्षबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आफूले संकेत गरेको उनको भनाई छ।

नेता गुरुङका अनुसार आगामी २८ गते स्थायी कमिटि बैठक हुनु अगावै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसखाले सम्झौता हुन सक्ने र उक्त बैठकमा ओली पनि सहभागी हुने सम्भावना प्रवल छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता गुरुङले केन्द्रीय सचिवालय वास्तवमै नालायक ठहरिएको र त्यसको कुनै औचित्यनै नभएकाले सचिवालयका सदस्य भन्दा बाहिर गएर नयाँ पुस्ताको संयोजकत्वमा महाधिवेशन आयोजिक समिति बनाउने, एकताका बाँकी काम पुरा गर्न कार्यदल बनाउने, गुटगत, समूहगतलगायत सबै खाले प्रवृतिहरुलाई संवोधन गरेर बृहत रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अन्य संवैधानिक र राजनीतिक नियुक्तिहरु भागबण्डामै गर्नेलगायत विषय ‘प्याकेज’ मा सम्झौता गर्ने विकल्प हालका लागि उत्कृष्ट हुने बताएका हुन्।

तर यसखाले सम्झौता अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै बसेर गर्दा फेरि पनि अविश्वास पैदा हुने भएकाले उनीहरुबीचको सम्झौताका बेला अर्को कुनै नेता पनि सहभागि हुनुपर्ने नेता गुरुङको अडान छ।

नेता गुरुङले हारजितको लडाईँ अघि बढाउँदा पार्टी टुक्रिने भएकाले यसतर्फ नेताहरु सजक हुनुपर्ने बताएका छन्। यो विवाद उत्कर्षमा पुर्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिइरहेका नेता माधवकुमार नेपालको पनि महत्वपूर्ण भूमिका रहेको नेता गुरुङको ठहर छ।

प्रकाशित मिति: : 2020-12-08 08:46:00

प्रतिकृया दिनुहोस्