विभत्स हत्यापछि त्रासमा बर्खेबासी: कहिले प्रहरीकाे तनाव, कहिले विप्लवको

तेजन खड्का

उर्लाबारी, माेरङ

मंसिर २३ गते विहान ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अपहरण गरियो।

 घरमै बसिरहेका  श्रेष्ठलाई ६/७ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले हात बाँधेर जंगलतर्फ लगे।

उक्त समूहले घरमा एक्लै भएको अवस्थामा श्रेष्ठलाई हात बाँधेर लैजाने क्रममा नजिकका छरछिमेकीलाई साथीहरुले सोधपुछका लागि भन्दै 'लगे है' भनेर सुनाएका थिए। 

श्रेष्ठलाई जंगलतर्फ लगेको स्थानीयले थाहा पाएपछि खोजी गर्ने क्रममा करिब ८ बजे विभत्स तरिकाले हत्या गरेको अवस्थामा घरदेखि करिब १ किलोमिटर क्षेत्रमा पर्ने जंगलमा शव भेटियो। 

घाँटी रेटेर विभत्स तरिकाले श्रेष्ठको हत्या भएको थियो। उनको घाँटीमा गहिरो काटिएको थियो भने दुबै हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।

विहान ८ बजे श्रेष्ठको शव भेटेपछि स्थानीयबासीले सोही वडाका वडाध्यक्ष नरबहादुर राईलाई घटनाका बारेमा जानकारी गराएका थिए।

वडाध्यक्ष राईले सो घटनाका बारेमा प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराएका थिए। श्रेष्ठकी श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन गएको बेला सो घटना भएको बताइन्।

शव भेटिएको भन्दा करिब ५० मिटरमाथि श्रेष्ठको फोन, टोपी र चप्पल भेटिएको छ। जहाँ ब्लटसमेत थियो।

सोही स्थानमा श्रेष्ठलाई चरम यातना दिएको देखिन्छ। लठ्ठीले कुट्दै धारिलो हतियार प्रयोग गरी उनको विभत्स तरिकाले हत्या गरिएको प्रहरीले जनाएकाे छ।

सोमबार राति पनि सोही समूहका दुई जना घर आसपासका क्षेत्रमा आएको देखेपनि खासै वास्ता नगरेको उनको भनाई छ। उनले आफ्ना श्रीमानको विभत्स तरिकाले हत्या गर्नेलाई हदैसम्म कार्वाही गर्न माग गरेकी छिन्। 

प्रहरी पुग्न ७ घण्टा

श्रेष्ठको हत्या भएको जानकारी प्रहरीसँग लगभग विहान ८ बजेमा आइपुगिसकेको थियो। तर, प्रहरी भने घटना स्थलमा दिउँसो ३ बजे मात्र पुगेको थियो।

मिक्लाजुङ गाउँपालिका १ को कार्यालय आइतबारेबाट करिब ३ घण्टामा घटनास्थल पुगिन्छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धब पोखरेलसहित जनपथ र सशस्त्र प्रहरी घटनास्थलमा ट्याक्टरमा पुगेको थियो। 

अत्यन्तै विकट तथा बिग्रेको सडकका कारण त्यस स्थानमा धेरै समस्या भएको एक प्रहरीले बताए। 

जिल्ला प्रहरी कार्यालयका डिएसपीसहितको प्रहरी टोलीको गाडी लावा खोला नजिक बिग्रेपछि झण्डै तीन घण्टा हिँडेर घटनास्थलमा पुगेका थिए।

हतारले प्रहरी नै ‘पंगु’ बन्यो

घटनास्थलमा प्रहरी दिउँसो ३ बजे पुगेको थियो। तर, प्रहरीले विहानै अधिकांश सञ्चारमाध्यमलाई नेत्रविक्रम चन्द ‘विप्लव’ ले  श्रेष्ठको गोली हानी हत्या भएको जानकारी गराएको थियो। पछि घटनास्थलमा पुग्दा प्रहरीले गोली होइन धारिलो हतियार प्रयोग चाल पायो। 

प्रहरीले घटनास्थलमा नपुगी सुनेको आधारमा गोली प्रहार गरी हत्या गरेको सूचनाले प्रहरी नै ‘पंगु’ बन्न पुगेको थियो। स्थानीयबासीका अनुसार त्यहाँ कुनै गोलीको आवाज आएको थिएन। कसरी प्रहरीलाई गोली प्रहारको सूचना पुग्यो त ? स्थानीय नै अचम्ममा छन्।

घटनापछि त्रासमा स्थानीय

श्रेष्ठको विभत्स तरिकाले हत्या भएपछि स्थानीयबासी त्रासमा छन्। मिक्लाजुङ १ साविक रमितेखोला गाविसमा सुरक्षा निकाय छैनन्। विगत लामो समयदेखि सशस्त्र प्रहरी बेस क्याम्प स्थापनाका लागि माग भइरहेको भएपनि कतैबाट सुनुवाई नभएको वडाध्यक्ष राईको गुनासो छ।

त्रासमा वडाबासी बस्नु परेको भन्दै उनले प्रदेश र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छन्।  श्रेष्ठको हत्या भएपछि गाउँमा बस्न असुरक्षित महशुस भएको स्थानीय गोविन्द श्रेष्ठले बताए। जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन उनले माग गरे।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङ ‘विप्लव’ समूहको परेडस्थल मानिन्छ। यसमा ‘विप्लव’ समूहको सैन्य तालिम हुँदै आएको बुझिएको छ। पछिल्लो समय बर्खेलगायत क्षेत्रमा प्रहरीको गस्ती बढेको थियो। 

स्थानीयबासीहरुलाई प्रहरीले अनावश्यक रुपमा शंका गरी तनाब दिने, मोबाइल जफत गर्ने जस्ता कार्य गरेको एक स्थानीयले बताए। ‘प्रहरी आउँछ हामीलाई तनाब दिन्छ’, स्थानीय एक ब्यक्तिले भने, ‘विप्लव कार्यकर्ता आउँछन् हामीलाई नै तनाब दिन्छन्। अब यहाँ कसरी बस्ने ?’ प्रहरीको गस्ती बढेपछि विप्लव कार्यकर्ता रुष्ट बनेका थिए।

उनीहरुले स्थानीयबासीबाटै सुराकी भएको आशंका गर्दै निगरानी बढाएको बुझिएको छ। सोही क्रममा प्रधानाध्यापक श्रेष्ठको विभत्स तरिकाले हत्या भएको हो।

बर्खेबासीका प्रिय थिए राजेन्द्र सर

श्रेष्ठ बर्खेबासीका लागि प्रिय थिए। शिक्षाका साथै विकास निर्माणलगायतका कार्यमा उनकै नेतृत्व हुने गर्थाे। विगत २५ वर्षदेखि उनले सो विद्यालयमा पढाउँदै आएका थिए। 

श्रेष्ठले सडक विस्तार, सामाजिकलगायत कार्यमा ठूलो देन रहेको स्थानीय राईले बताए। उनले भाबुक हुँदै भने, ‘हामीले शिक्षासेवा तथा विकासप्रेमी अभिभावक गुमायौं।’

२०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए।

किन भयो प्रधानाध्यपक श्रेष्ठको हत्या ?

विप्लवले पार्टीविरुद्ध लामो समयदेखि श्रेष्ठले सुराकी गरेको र सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले यो घटना भएको दाबी गरेको छ। 

तर, स्थानीयबासीले भने चन्दा नदिएको कारण हत्या भएको हुन सक्ने बताउँछन्। गत असारमा विप्लव समूहले १० हजार चन्दा माग गरेका थिए। 

सो क्रममा ५ हजार मात्र रहेको बताएपछि सो पनि नलिई विप्लवका कार्यकर्ता फर्किएका थिए। यसैसाता पनि बाहिरबाट सरहरु आउनुहुन्छ भन्दै बाख्रा मागिएको बताइएको छ। तर, श्रेष्ठले बाख्रा पनि नदिएपछि ‘विप्लव’ समूहका कार्यकर्ता रुष्ट बनेको जानकार स्रोत बताउँछ।

सहिद घोषणा गर्न माग 
 
श्रेष्ठकाे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन्। उनलाई सहिद घोषणा गर्न माग गरिएको छ। 

श्रेष्ठको हत्यापछि उर्लाबारी  १ स्थित पाटने बन्धु भेला समन्वय समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठको हत्यारालाई कडा भन्दा कडा कारबाही गरी उनलाई सहिद घोषणा गर्न माग गरिएको हाे।

समितिका अध्यक्ष विष्णु श्रेष्ठले हस्ताक्षित गरेको विज्ञप्तीमा मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन समेत माग गरिएको छ। 

उनको अन्त्येष्टि विहीबार मोरङको मिक्लाजुङ ८ र २ को संगमस्थलमा रहेको बक्राहा खोलामा गर्ने परिवार र आफन्तको तयारी छ।

श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन्। छोराछोरी दुबैको विवाह भइसकेको छ। घरमा श्रीमान र श्रीमतिमात्रै बस्दै आएका थिए। उनका छोरा ३० वर्षीय छत्रबहादुर बिहे गरेर मधुमल्लामा परिवारसहित खेतीपाती गरेर बस्दै आएका थिए।

प्रकाशित मिति: : 2020-12-09 20:49:00

प्रतिकृया दिनुहोस्