कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हाे, कममा नआँकियाेस्: प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेकपा पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कममा नआँक्न चेतावनी दिए ।

सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा मकवानपुरको हेटौंडामा आयोजित खबरदारी सभामा प्रवक्ता शर्माले भने,‘कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो। माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी आक्रमण गरेको जस्तो हैन,कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो।’

उनले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए। 

‘कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भए। कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टाइन व्यवस्थापन गर्न समेत सकेन,’ उनले भने। 

नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए। 

‘बुढीगण्डकी नेपालीको लगानीमा बनाउने निर्णय भएको तर नेकपा सरकारले चीनको एक विवादास्पद कम्पनीलाई बीना प्रतिस्पर्धा दिइयो यो भ्रष्टाचार होकी हैन्? त्यस्तै ७० करोडको कमिसनदेखि कात्रोदेखि स्वासप्रश्वासको औषधिमा सरकारले भ्रष्टाचार गरेको किन गरियो भनेर हामी जवाफ माग्न सडकमा आएका हौं,’ उनले भने। 

यता उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए । 

 प्रवक्ता शर्माले भने,‘नगरपालिकामा कांग्रेसले जितेको हो । विषय पुल र उद्घाटन हैन, कांग्रेसले बोलाएर रामचन्द्र पौडेल जानु भयो । उहाँ माथि गरिएको दुर्व्यवहार सहेर बसिदैन।’
 

प्रकाशित मिति: : 2020-12-14 15:43:00

प्रतिकृया दिनुहोस्