रियाल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ।
घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा मंगलबार राति भएको खेलमा रियालले १० खेलाडीमा समेटिएको बिल्बाओमाथि ३–१ को सहज जित हात पारेको हो।
रियालको जितमा फरवार्ड करिम बेन्जेमाको दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे।
बिल्बाओका एन्डर कापाको गोल सान्त्वना बन्यो।
खेलको १३औँ मिनेटमा टोनी क्रुसमाथि फल गरेपछि राहुल गार्सिया दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए।
त्यसपछि १० खेलाडीमा समेटिन पुगे एथलेटिको बिल्बाओले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल खायो।
रियालका लागि भिनियिस जुनियरको पासमा टोनी क्रुसले गोल गरे।
५२औँ मिनेटमा डि मार्कोसको पासमा एन्डर कापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
७४औँ मिनेटमा ड्यानियल कार्भाहलको पासमा करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ३–१ को जित दिलाए।
जितसँगै रियालले शीर्षस्थानको रियल सोसिडाड र एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ।
शीर्षस्थानको सोसिडाडको १३ खेलबाट २६ अंक छ। एट्लेटिकोले ११ खेल खेलेको छ। रियालले पनि १३ खेल खेलेको छ।