संसद अधिवेशन माग्न शीतल निवास पुगे रावल र भुसाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको स्थायी समिति बैठक प्रभावित भएपछि दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली सहभागी नभएपछि संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षरसहित स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेको हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको बताए। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदमा विपक्षी दलका नेता तथा सभामुखको उपस्थिति बिनै पनि संवैधानिक निकायमा महत्वपूर्ण नियुक्तिका लागि सफारिस गर्न सक्ने अधिकार प्राप्त गर्ने अध्यादेश जारी गराएका थिए।

यसले शक्ति सन्तुलन र लोकतान्त्रिक एवम् संवैधानिक व्यवस्थामाथि गम्भीर प्रहार भएको भन्दै ओली र राष्ट्रपति भण्डारीको सत्ता भित्रै र बाहिरबाट तीव्र आलोचना भइरहेको छ।

यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको छ र संसद अधिवेशनको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेको बुझिएको छ। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुगेका छन्।

अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ। परिषद्का सदस्य प्रधानन्याधीश पनि हुने भएकाले यो रिटमा उनलाई समेत विपक्षी बनाइएको छ।

प्रकाशित मिति: : 2020-12-16 14:42:00

प्रतिकृया दिनुहोस्