इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन सकिने

बिएल संवाददाता

काठमाडाै‌ं

इसेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।

यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् ।

यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने ,‘विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौँ। यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठुलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ।’

यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भनिन्, ‘ हामीले सधै भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ । यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ।’

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम १ सय सम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।

नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन/प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्तसुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो ।

प्रकाशित मिति: : 2020-12-16 19:50:00

प्रतिकृया दिनुहोस्