त्रिशूली अस्पतालमा सघन उपचार सेवा

सांकेतिक तस्बिर

त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष  सेवा शुरुआत भएको छ। 

अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो। 

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको जानकारी दिए। 

'दश श्ययायको सघन उपचार सेवा अन्तर्गत अस्पतालले दुई वटा भेन्टिलेटरसहित तत्कालको लागि छ श्ययाको सघन उपचार कक्ष र चार श्ययाको अक्सिजन श्यया (हाई डिपेन्डेन्सी युनिट–एचडीयू) सेवा शुरु भएको छ' उनले भने, 'सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने यही पुस ७ गते वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुहुनेछ।' 

अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो। उपकरण जडानको काम पूरा भएसगैँ  दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो। 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको  अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ। यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन्।

अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ। यसका लागि सांसद नारायण खतिवडाले विशेष पहल गरेका थिए। रासस 

प्रकाशित मिति: : 2020-12-17 13:17:00

प्रतिकृया दिनुहोस्