श्रीलंकालाई विश्वकप जिताएका वाटमोर नेपाली क्रिकेटकाे प्रशिक्षकमा नियुक्त

दीप सुवेदी

काठमाडाै‌ं

सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका अस्ट्रेलियाका प्रशिक्षक डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक नियुक्त भएका छन्। सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) काे सदस्यता पाएपछि नेपाली राष्ट्रिय टाेलीसँग जाेडिन लागेका उनी अहिलेसम्मकै हाइप्राेफाइल प्रशिक्षक हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ६६ वर्षीय वाटमाेरलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएकाे हाे। क्यानका महासचिव अशाेकनाथ प्याकुरेलले बिएल नेपाली सेवासँग कुरा गर्दै भने–‘याे हाम्राे लागि सुखद समाचार हाे। उनकाे अप्रुवल आएपछि आज सार्वजनिक गरेका हाैं।’

क्यानले नयाँ प्रशिक्षकका लागि पहिले ७२ जनाको आवेदन स्वीकार गरेकाे थियाे। यसबाट २५ जनाको सर्टलिस्ट तयार पार्दै १४ जनालाई अन्तर्वार्तामा बोलाएको थियो। अन्तर्वार्तामा १२ जनाले भाग लिएका थिए। भारतीय प्रशिक्षक  शुलक्षण कुलकर्णी र वेष्ट इण्डिजका एक प्रशिक्षक भने अन्तर्वार्तामा सहभागी भएनन्। 

वाटमाेरसँगै अन्तर्वार्तामा २०११ देखि चार वर्ष नेपाललाई प्रशिक्षण दिइसकेका पुवुदु दशानायके, छोटो समयका लागि व्याटिङ प्रशिक्षक भएर आएका भारतका अपूर्व सुबोधभाइ देसाइ, भारतकै वेन्कट राम, मुकुन्द पारमर, स्कटल्याण्डका नेइल क्याक्रेइ र जिम्बाब्वेका ततेन्दा ताइबुले पनि भाग लिएका थिए। 

क्यानले रौनक मल्ललाई जनरल म्यानेजर, रमेशकुमार न्याैपाने चिफ फाइनान्स अफिसर र पूर्व कप्तान विनोद दासलाई क्रिकेट म्यानेजर पनि नियुक्त गरेकाे छ।

काे हुन्  वाटमोर

सन् १९९५ मा वाटमोर श्रीलंकाकाे राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि याे देशकाे क्रिकेटमा कायपलट भएकाे थियाे। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमकाे छवी बनाएकाे श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रकाे रुपमा चिनाए।  

वाटमाेर प्रशिक्षक नियुक्त भएकाे वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएकाे विश्वकपकाे उपाधि जितेकाे थियाे। उनले ओपनरद्धय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जाेडीकाे रुपमा प्रशिक्षित गरेका थिए। 

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरसँग आबद्ध भए। उनले यहाँ दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी पनि जिताएका थिए।

१९९९ को विश्वकपमा उनी फेरि श्रीलंका फर्किएका थिए। तर पहिले जस्ताे श्रीलंकाले सफलता पाउन सकेन। २००३ को विश्वकपमा भने उनको प्रशिक्षणमा श्रीलंका पुन: सेमिफाइनलमा पुग्याे।

उनले बंगलादेशलाई पनि प्रशिक्षण दिइसकेका छन्। उनकाे नेतृत्वमा २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जितेकाे थियाे भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो। २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो।

बंगलादेश छाडेपछि उनी २००७ मा भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने। उनले भारतकाे यू–१९ टिम पनि सम्हालिसकेका छन्।

२००८ मा मलेसियामा भएको यू–१९ विश्वकपमा भारतीय कप्तान विराट कोहलीकाे नेतृत्वमा उनले भारतलाई उपाधि दिलाउन सफल भए। २०१० र २०११ मा आइपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका वाटमाेर ४ मार्च २०१२ मा पाकिस्तान टिमको पनि प्रशिक्षक नियुक्त भए। उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेकाे थियाे। २०२० फेब्रअरीदेखि उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक छन्।

उनी २०२१ काे जनवरीमा नेपाली राष्ट्रिय टिमकाे नेतृत्व गर्न काठमाडाै‌ं आउने छन्। उनका मेनेजर काैस्तभ लाहरीले क्यानले वाटमाेरलाई नेपालकाे मुख्य प्रशिक्षक नियुक्त गरेकाेमा धन्यबाद दिएका छन्। उनले डेभ नयाँ चुनाैतिलाई लिएर निकै आशावादी भएकाे भन्दै लाहरीले भनेका छन्,‘नेपालमा केही क्षमतावान खेलाडी छन् र उनी नेपाली क्रिकेटकाे भविष्य चहकिलाे भएकाेमा ढुक्क छन्।’ वाटमाेर नेपालका युवा प्रतिभासँग काम गर्न लालायित रहेकाे उनकाे मेनेजरले बताएका छन्। 

 

 

प्रकाशित मिति: : 2020-12-17 16:31:00

प्रतिकृया दिनुहोस्

    111111

    • 3 बर्ष अगाडि
    • अनलाईन न्यूूज सेभेन