सरकारविरुद्ध कोहलपुरमा राँके जुलुस

नेकपा (प्रचण्ड)का युवाहरुले संसद विघटनविरुद्ध बाँकेको कोहलपुरमा यूवाहरुले राँके जुलुस निकालेका छन् । पार्टीको केन्द्रीय  समितिको निर्णय र जिल्लाको साताव्यापी कार्यक्रम अनुसार कोहलपुरमा राँके जुलुस निकालेका हुन् ।  

यसअघि आइतबार नेकपा (प्रचण्ड)ले जिल्ला स्तरीय भेलाको आयोजना गरेको थियो । उक्त समूहको भेलालाई सम्बोधन गर्न स्थायी कमिटी सदस्य योगेश भट्टाई नेपालगञ्ज पुगेका थिए । 

उनले सोमबार विहान आफू पक्षीय पत्रकारहरुसँग पनि भेटघाट गरे । उक्त अवसरमा  उनले पुस ५ को संसद विघटन गरेर प्रधानमन्त्री ओलीले राजनीतिक भूूकम्प ल्याएको र प्रदेश सरकारमा समेत अविस्वासको प्रस्ताव आउन थालेको भन्दै पराकम्पन देखिन थालेको बताएका थिए ।  

यस्तै पार्टीको साताव्यापी अनुसार नै सोमबार साँझ कोहलपुर राँके जुलुस निकालिएको  बताइएको छ ।  

उक्त अवसरमा ओली विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो । उक्त अवसरमा बोल्दै अनेरास्ववियूका पूर्वकेन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले ओलीको कदमले देश प्रतिगमन तर्फ उन्मुख भएको बताए  । 

उनका अनुसार  ओलीको कदम विरुद्ध शसक्त रुपमा लाग्न आह्वान समेत गरे । नेकपा बाँकेले ओलीको कदमविरुद्ध आगामी २५ गतेसम्म साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।  

मंगलबार पूर्व निर्धारित कार्यक्रम अनुसार नेपालगञ्जमा बृहत आन्दोलन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव अशोक कोइरालाले बताए ।

प्रकाशित मिति: : 2020-12-28 19:28:00

प्रतिकृया दिनुहोस्