हलमा दर्शक शून्य, जाेखिम माेल्न तयार भएनन् निर्माता

कमल प्रभात

काठमाडाै‌ं

कोरोना महामारीले ९ महिनासम्म बन्द भएका चलचित्र भवन गत शुक्रबारदेखि  खुलेका छन्। दर्शकको उपस्थिती न्यून भएपनि पुरानै अवस्थामा फर्काउन वातावरण बनाउने भन्दै संचालकहरुले हल सुचारु गरेका हुन्।

अहिले गत वर्ष फागुन दोस्रो हप्ता रिलिज भएका चलचित्र ‘आमा’ र ‘सेन्टि भाइरस’ पुनः रिलिज गरिएको छ। तर यी चलचित्र हेर्न आउनले दर्शकको उपस्थित भने न्यून छ। 

चलचित्र विज्ञहरुका अनुसार नयाँ चलचित्र नआएसम्म हलमा दर्शकको राम्रो उपस्थित हुने सम्भावना निकै कम छ। तर, तत्काल कुनै पनि निर्माता आफ्नो नयाँ चलचित्र रिलिज गर्ने योजनामा छैन्न। 

निर्माता तथा कलाकार दीपकराज गिरी पनि अहिले नै हल खोल्नुपर्छ पक्षमा छैनन्। मानिसहरुका लागि ज्यान भन्दा ठूलो मनोरञ्जन नभएको उनको बुझाइ छ। तर, चलचित्र संघले भने वातावरण सामान्य हुन समय लागेको र आर्थिक उपाजन बन्द भएको भन्दै हल खोलाएको छ।

दीपकराज हल खुले पनि अब कसरी चलायमान बनाउने भन्ने कुरामा आफु कन्फ्युजमा रहेको बताउछन्।  तर, दिपकले ‘सडकमा देखिने जुलुस, रात्रीकालिन व्यवसाय भन्दा चलचित्र हल बढि सुरक्षित रहेकोले तत्काललाई पुरानै चलचित्र पुनः रिलिज गरेर दर्शकलाई हलसम्म आउने बानी पार्न भए पनि पुरानै चलचित्र रिलिज गर्दै जानु पर्छ,’ उनी भन्छन्।

त्यस्तै प्रदर्शनको मुखमा आएर रोकिएको चलचित्र प्रेम गीत–३ का निर्माता सन्तोष सेन आफ्नो चलचित्र तत्काल रिलिज गर्ने योजनामा नभएको बताउँछन्। 

उनी अझै कोरोना भाइरस विरुद्धको खोप आइनसकेकाले चलचित्र रिलिज गरेर जोखिम मोल्न नसकिने बताउँछन्।

त्यस्तै चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले तत्काल हलमा नयाँ चलचित्र रिलिज गर्न कठिन भएको बताए। नयाँ चलचित्र रिलिजको लागि निर्माता तयार नभएकोले अहिले तत्काललाई पुरानै चलचित्रलाई निरन्तरता दिने योजना उनी छन्। 

उनले भने, ‘अहिले हलमा नयाँ चलचित्र रिलिज गर्ने तयारी भएको छैन। हामि दर्शकले मिस गरेका पुराना चलचित्रलाई पुनः रिलिज गर्दै लैजाने छौं।’

प्रधानले पुस महिनाको अन्तिम सम्ममा नयाँ चलचित्र रिलिज गर्ने योजना रहेको बताएका छन्।

‘निर्माताले प्रचारप्रसारको लागि केहि समय मागेको छन्। नयाँ चलचित्र रिलिजको लागि समय लाग्ने भएकोले हामीले पुस महिनाको अन्तिमसम्ममा नयाँ चलचित्र रिलिज गर्ने गरि तयारी गरेका छौं,’ उनले भने।

तर, सुरुमा कुन चलचित्र र कुन मितिमा रिलिज हुन्छ भन्ने अहिलेसम्म टुंगो लागि नसकेको उनले बताए।

प्रकाशित मिति: : 2020-12-30 12:01:00

प्रतिकृया दिनुहोस्