गोलबजारमा सडक बनाउने नाममा बदमासी

गोलबजार नगरपालिका वडा नम्बर– ६ को सडक निर्माण कार्य विवादमा परेको छ।

सडक निर्माण प्रक्रियामा पुरानो माटो नकाटी ग्राभेल खसाले पश्चात विवाद सुरु भएको हो।

विवाद मिलाउन वडा नम्बर–६ का वडा अध्यक्ष वसन्त लामाले स्थानीय बासिन्दाका अगाडि लाउडस्पिकरबाट ठेकेदारलाई फोन गरेका थिए। 

अध्यक्ष लामासँग लाउडस्पिकरमा भएको कुराकानीमा ठेकेदारले भनेका थिए, ‘मेयरले माटो नकाटी ग्राभेल झार्न भनेपछि त्यही गरेको हुँ।’

ठेकेदारको यस्तो कुरा सुनेर लामाले तत्कालै मेयर देवनाथ साहलाई फोन गरेका थिए। मेयर साहको भनाई उधृत गर्दै लामाले भने, ‘उहाँले आफूले पटक–पटक पुरानो माटो नकाटी ग्राभेल नझार्नुभन्दा पनि ठेकेदारले अटेर गरेको बताउनुभयो।’ 

सोही विषयमा स्थानीय बासिन्दाले छलफल गरि मेयरसँग भेट गरेका थिए। ‘फोनमा भएको कुराकानीपछि मेयरलाई भेट्न गएका थियौं। उहाँले भेटघाटको क्रममा भने इस्टिमेटमा माटो काट्ने कुरा नरहेको र राजमार्गभन्दा बढी उचाई हुनेगरि यो सडक बनाउनुपर्ने कुरा गर्नुभयो,’वडा अध्यक्ष लामाले भने। 

मेयरको कुरा सुनेपछि स्थानीय जनताले इस्टिमेट हेर्ने र सडक विभागका डिजीसँग कुरा गर्ने प्रस्ताव राखेका थिए। 

‘अहिलेसम्म केही भएको छैन। मेयरले पटक–पटक आफ्नो कुरा फेरेको देखेर अचम्मित भएका छौं,’ स्थानीय बासिन्दाले भने। 

‘सडक बनाउँदा ८० प्रतिशत घर वर्षाको पानीले डुबानमा पर्न सक्छ,’ गोलबजार उद्योग व्यापार सङ्घका प्रवक्तासमेत रहेका स्थानीय शोहेब अनवरले भने। 

हाल स्थानीयवासी आफ्नो घर डुबानमा पर्नसक्ने कुराले एकदमै त्रसित छन्। सोही त्रासले स्थानीय बासिन्दाले सडक निर्माण कार्य हालका लागि रोकिदिएका छन्।

प्रकाशित मिति: : 2021-01-07 20:41:00

प्रतिकृया दिनुहोस्