भीम रावल किन परिरहेछन् ओलीको निशानामा?

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍याथिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित सभामा गरेको भाषणको एक अंश हो, यो। उनले ‘एउटा केटो’ भन्दै महत्त्वहीन व्यक्तिका रुपमा प्रस्तुत गरेका नेता हुन्, नेकपाका स्थायी कमिटी सदस्य भीम रावल।

नेकपाको अनौपचारिक विभाजनपछि चलिरहेको वाकयुद्धमा ओलीले एक पक्षको नेतृत्व गरिरहेका छन्। दैनिकजसो चलिरहेको उनको भाषणमा केही नेताका विषयमा छुद्र टिप्पणी गर्ने गरेका छन्। मुख्यतः पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई नै उनले आफ्नो निशानामा पार्ने गरेका छन्। त्यसपछि भने रावलकै नाम आउँछ।

ओलीले रावललाई कुन स्तरमा प्रस्तुत गर्छन् भन्ने कुरा ‘एउटा केटो’ भन्ने शब्दावलीले नै प्रष्ट पार्छ। रावललाई गाली गर्नैका लागि ओलीले ‘तथ्यहीन समाचार’को समेत सहारा लिने गरेका छन्। गत पुस १९ गते काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित एउटा भेलामा उनले रावलबारे आएको गलत समाचारको आधारमा आलोचना गरेका थिए।

ओलीले बेलाबखत चर्चा गरिरहन्छन्- म एमालेको महाधिवेशनमा जितेर अध्यक्ष बनेको हुँ। ओली जुन महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए, रावल पनि त्यही महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए।

अर्कोतिर, ओली आफैंले ‘राजनीतिकरण’ गरेको दाबी गर्ने ती व्यक्तिका कारण सुदूरपश्चिममा कम्युनिस्ट राजनीति फैलिन सकेको हो। यसअघि नेकपा एमालेका लागि उनी त्यो क्षेत्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत अनिवार्य जस्तै बनेका थिए।

प्रकाशित मिति: : 2021-01-10 07:53:00

प्रतिकृया दिनुहोस्