हाम्राे विशाल जनसभाकाे फोटो छापिनन्, तर विरोधीहरुकाे ‘हाइलाइट’ गरेर फोटो छापिन्छ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो विशाल जनसभाको फोटो नछाप्ने भन्दै सञ्चारमाध्यममाथि खनिएका छन्। 

आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखेका हुन्।

‘विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापिन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले प्रायोजित रुपमा सञ्चारमाध्यमहरु परिचालन गरेर सरकारको विरोध गर्न लगाएको समेत आरोप लगाए। ‘प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ,’ ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णयको आलोचना गर्नेहरुलाई ‘बुद्धिजीवीहरुको झुण्ड’ भनी आलोचना गरेका छन्। 

उनले भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ। र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ। यस्तै अस्थिरता सिर्जना गर्ने प्रयासलाई रोक्न प्रतिनिधि सभा विघटन गरेको हुँ।’ 

उनले कतिपयले आफ्नो कदमलाई गैरजिम्मेवार भन्ने गरेको भन्दै गैरजिम्मेवारको अर्थको शब्द पल्टाएर हेर्न सुझाव दिए। 

प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियता शून्यमा पुगेको केहीले हल्ला गरेको भन्दै त्यसलाई निर्वाचनमा गएर प्रमाणित गर्न चुनौतीसमेत दिए।

‘हाम्रो लोकप्रियताको फैसला निर्वाचनले गर्ने छ,’ उनले भने, ‘केपी ओलीको लोकप्रियता जिरोमा गएको छ भन्ने सुनेको छु। जिरोमा गयो कि माइनसमा छ। निर्वाचनमा हेरौं न।’

उनले अहिले अरुले ओलीका दिन गएको भनेर गरेको गरेको दाबीलाई रेस्लरसँग तुलना गरे।

‘रेस्लिङ खेल्दा रेस्लर फूर्ति देखाउँछन्। जित्नु कता हो कता, बेल्ट लिएर देखाउँछन्। रिङमा नचढ्दै बेल्ट लिएको देखिन्छ। पछि रेफ्रीले जिते लगाइदिउँला भनेर फिर्ता लिन्छ। कतिपयले अहिले त्यसरी नै बेल्ट उचालेको देखेको छु,’ उनले भने। 

उनले अब  गफ फिट्ने दिन गएको भन्दै अब नतिजा हेर्ने दिन आएकोले हिम्मत भए मैदानमा आउन चुनौती समेत दिए। 

उनले भने, ‘किन खुट्टा कमाएको, जनताको बीच जाने भन्नेबित्तिकै? प्रभुका चरणमा होइन, जनताका शरणमा जाने भनेको हो। केपी ओलीले गल्ति गरेको छ भने नेपाली जनताले दण्ड देलान्।’

प्रकाशित मिति: : 2021-01-10 14:31:00

प्रतिकृया दिनुहोस्