पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताएका छन् ।

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गरे ।

मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औँल्याए । उनले भने, “सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिनेछ र सम्झिरहेको छ ।”     

सत्ता स्वार्थका लागि विखण्डन गर्नु हँुदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने उनको भनाइ छ । पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने जानकारी दिए।

मन्त्री ढकालले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँले राष्ट्रनिर्माण गर्ने अग्रज अभिभावकको योगदानलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यस कार्यमा प्रष्ठिानलगायत संस्था र अभियन्ताको सहकार्य जरुरी भएको बताए ।

मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइए पनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको उल्लेख गरे  । उनले भने, “संविधानमा हिन्दू धर्ममाथि अतिक्रमण भयो भन्ने बुझाइ गलत हो । सार्वभौमसत्ता सम्पन्न संविधानसभाले निर्माण गरेको संविधानलाई एकपटक पढियो भने कुनै अन्योल रहने छैन । राज्य धर्मनिरपेक्ष हुन्छ, व्यक्तिको धार्मिक स्वतन्त्रताको राज्यले जिम्मा लिन्छ । संविधानमै प्राचीन परम्परागत ढङ्गले चलेका सनातन धर्मको राज्यले नै संरक्षण गर्छ भनेको छ । बलजफ्ती धर्म परिवर्तनलाई भने दण्डित गरेको छ । त्यसैले संविधान र कानूनले परम्परागत धर्म कर्मलाई बर्खिलाप गरेको छैन ।” 

नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायणको एकीकरण अभियानलाई बुझेर अघि बढ्न सके मात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गरे। जटिल भूराजनीतिक अवस्थामा रहेको नेपाल राष्ट्रलाई स्वाभिमान, स्वतन्त्रता र सार्वभौम बनाउन पृथ्वीनारायणले खेलेको भूमिका र शासन सञ्चालनका विधि र पद्धतिलाई अनुशरण गर्न सकेको खण्डमा नेपालको हितकारी हुने धारणा राखे । उनले राज्य भागबन्डा गर्ने हैन, स्वार्थबाट अलग रहेर राष्ट्रको विकासमा दत्तचित्त भएर लाग्नुपर्ने पृथ्वीनारायणको प्रेरणालाई आजको सन्र्दभमा पनि उपयोग गर्न जरुरी छ भने । 

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको चरित्रलाई विकास गर्न नसकेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको दाबी गर्नुभयो । उनले पृथ्वीनारायणको विचार र चरित्रलाई आत्मसात् गरेको खण्डमा मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

प्रा डा टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पृथ्वीनारायणले आर्थिक र सामाजिक सङ्कटलाई पार गर्दै एकीकरण अभियानमा गरेको मिहिनेत र सङ्घर्षको योगदानलाई आधुनिक पुस्ताले भुल्न नहुने बताए । उनले नुवाकोट पृथ्वीनारायणको एकीकरण अभियान महत्वपूर्ण रहेको र उनको कर्मभूमि पनि भएकाले एकीकरणसँग जोडिएका सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । प्राज्ञ प्रा दिनेशराज पन्तले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायणले गरेको योगदानको स्मरण गरे । 

सो अवसरमा मन्त्री ढकालसहित प्राज्ञ सदस्यलगायत विशिष्ट व्यक्तिले पृथ्वीनारायणको तस्बीरमा माल्यार्पण गरेका थिए । यसैबीच एकता दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञाभवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको प्रतिष्ठानका कुलपति उप्रेतीले उद्घाटन गरेका थिए ।

प्रतिष्ठानका चर्चित नयाँ तथा पुराना प्रकाशनहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी अवधिभर १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: : 2021-01-10 19:16:00

प्रतिकृया दिनुहोस्