‘मिस्ट कल’ ले जुराएको दृष्टीबिहिन जोडी (भिडियाेसहित)

तेजन खड्का

उर्लाबारी

हेलो
– को बोल्नुभयो ?
– मोबाइल चलाउँदै थिएँ, फोन गरेको तपाईंको नम्बरमा परेछ। को कहाँबाट बोल्नुभएको होला ?
– किन चाहियो तपाईंलाई ?
– भन्न त मिल्छ होला नि ।
– चिन्नु न जान्नु, के जथाभावी फोन गरेको त ?

लगत्तै फोन काटियो– टु टु टु टु।
यो कुनै फिल्मको संवाद होइन। उर्लाबारी–४ विशाल टोलका ३४ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँ बजारकी २७ वर्षीया सम्झना लिम्बूबीचको करिब साढे पाँच बर्ष पहिलेको संवाद हो। केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेर निरन्तर ‘मिस कल’ गरिरहे । तर, ‘कल ब्याक’ भने भएन । तैपनि आश भने मारेनन् ।

एक दिन मोबाइलको घण्टी जोडले बज्यो । होमले हत्तपत्त फोन उठाए । तर, फोन काटियो । सोही नम्बरमा फोन दबाए । पहिलो पटकमा फोन उठेन। अर्को पटक पुनः फोन गर्दा आफूले निरन्तर मिस कल गरेकी केटीको आवाज सुनियो। 

यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो। होमले सम्झनालाई आफूतिर आकर्षित गर्न धेरै प्रयास गरे । आफूले माया गर्ने र विहे नै गर्ने कुरा होमबाट आएपछि सम्झनाले भावुक हुँदै आफू दृष्टिविहीन भएको बताइन् ।

सम्झनाले आफू दृष्टिविहीन भएको बताएपछि होमलाई उखानले अन्यथा नपरोस् तर ‘के खोज्छस् कानो, आँखो’ भन्ने झैं भयो। त्यसपछि होमले आफू पनि दृष्टिविहीन भएको बताए । यसपछि होम र सम्झनाको प्रेम झन् प्रगाढ बन्दै गयो ।

सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताए। त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो। निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो।

विर्तामोडमा भेट्ने कुराको सल्लाह भयो। उनीहरुबीच भेट भयो। त्यसपछि उनीहरुले प्रेम विवाह गरे। बिएल नेपाली सेवासँग होमबहादुर बयलकोटीले भने, ‘दुःख गरेर भएपनि सम्झनासँग खुसी छु।’ उनीहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन्।

 गलत नम्बरमा फोन गरेकै कारण जीवनसंगीसँग भेट भएकोमा उनी दंग छन्। विगत सम्झदै भन्छन्, ‘मिस्ट कल’ ले सबै जुर्यायो। 

उनीहरुको विहे भएको पनि ५ बर्ष बितिसकेको छ। ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरु सानो कटेरोमा बसोबास गर्छन। सामाजिक संस्था न्यायो अभियान नेपाल उर्लाबारीले ४ बर्षअघि जस्ता पाताको छानोसहित बाँसको बेरा लगाएर निर्माण गरेको घर अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । सहयोगी दाताले बनाइदिएको घर काम नलाग्ने अवस्थामा पुगेपछि यो जोडीलाई अर्को चिन्ताले सताएको छ। 

नेत्रहीन बयलकोटी दम्पतिलाई अपाङ्ग भएका ब्यक्तिहरुको समूह उर्लाबारीका अध्यक्ष ब्यासकुमार लिम्बूले मुढा बुन्ने तालिम दिएका छन्। यसले परिवार चलाउन अलि सहज भएको छ। अहिले उनीहरु मुढा बेचेरै जीवनयापन गरिरहेका छन्।

दु:खले बसेको उल्लेख गर्दै सम्झना भन्छिन्,‘सबैको साथ र सहयोगको अपेक्षा राखेको छु।’ दलितको छोरोसँग बिहे गरेपनि परिवारबाट कुनै दबाब र अपहेलना खेप्नु नपरेको सम्झनाको अनुभव छ।

प्रकाशित मिति: : 2021-01-11 20:37:00

प्रतिकृया दिनुहोस्