लद्दाख विवादबारे ओलीले भने- आवश्यक परे सी र मोदीबीच नेपालले मध्यस्थताको भूमिका खेल्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे भारत र चीनबीच मध्यस्थता गर्न नेपाल तयार रहेको बताएका छन्। लद्दाखको गलवान क्षेत्रमा भएको सैन्य भिडन्तमा २० भारतीय सैनिक मारिएपछि तनाव उत्कर्षमा पुगेका बेला उनले दुई छिमेकीबीच मध्यस्थता गराउन सक्ने दाबी गरेका हुन्।

सोमबार बेलुका भारतीय टेलिभिजन जी न्यूजका सम्पादक सुधिर चौधरीलाले तपाईं चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मध्यस्थता गराउन चाहनुहुन्छ? भनेर सोधेको प्रश्नमा ओलीले भने, ‘अवश्य। म सी र मोदीबीच मध्यस्थता गर्न सक्छु। हामी साथी हौं र उमेरमा एक दुई वर्षले मात्र फरक छौं। म दुवै पक्षलाई वार्तामा बसौं भन्न सक्छु।

उनले नेपालले राजनीतिक कार्ड नखेल्ने समेत प्रष्ट पारे। ‘दुई ठूला छिमेकी लडे भने हामी समस्यामा पर्छौं। हामी दुवै छिमेकीबीच विश्वासको सम्बन्ध होस् भन्ने चाहन्छु। नेपालले तटस्थताको राजनीति गर्छ। हामी एकको विरुद्ध अर्काको कार्ड खेल्दैनौं। हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं। कार्ड खेल्दा भलाइ हुँदैन।’

उनले भारतसँगको धेरै राम्रो अवस्थामा रहेका उल्लेख गरे। ओलीले भने, ‘विगत भन्दा सम्बन्ध राम्रो छ। राम्रो हुँदै गएको छ। ब्रिटिस इण्डियापछि हामीले लगातार सम्बन्ध सुधार गरिरहेका छौँ।’

नेपालले एउटा छिमेकी विरुद्ध अर्को छिमेकीलाई आफ्नो जमिन र आकाश प्रयोग गर्न नदिने समेत ओलीले बताए। उनले भने, ‘नेपाल तटस्थताको नीतिमा चल्छ, कसैको पक्ष लिँदैन। हामी कसैको विरुद्ध हाम्रो जमिन, हाम्रो आकाश प्रयोग हुन दिँदैनौं।’

के नेपाल भारत र चीनबीच फसेको हो भन्ने चौधरीको अर्को प्रश्नमा ओलीले भने,‘दुबै हाम्रा असल छिमेकी हुन्। छिमेकीलाई चाहेर पनि बदल्न सकिँदैन। हामी दुबै मुलुकबीच समदुरीको सम्बन्ध राख्न चाहन्छौं। हामी दुबै मुलुकबीचको गलत बुझाइलाई हटाउन तयार छौं।’

‘नेपाल चीनप्रति नरम भएको छैन। हामी छिमेकीसँग समस्यारहित सम्बन्ध चाहन्छौं। हात्ती लडेपनि मैदानलाई नोक्सान हुने हो। हात्ती मिलेपनि नोक्सान मैदानलाई नै हुने हो।’

भारतले भूमि कब्जा गर्दा बोल्ने तर, चीनले भूमि कब्जा गर्दा चुप लाग्ने भन्ने कतिपय आलोचनको खण्डन गर्दै ओलीले दुबै देशसँग समान व्यवहार लागु हुने बताए। 

‘आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता गर्दैनाैं। दुबै देशसँग समान व्यवहार लागु गरिएको छ। नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्छ,’ उनले भने।

उनले अबको विकास आफैले गर्नेुपर्ने बताए। ‘हिमालदेखि हिन्द महासागरसम्म भारत थियो, के पुगेको थिएन र भारत गरिब रह्यो ? चोमोलोङ्मादेखि मंगोलियासम्म चीन फैलिएको थियो। के पुगेको थिएन र चीन गरिब रह्यो ?नेपाल कहिल्यै उपनिवेश भएन तरपनि गरिब भने रह्यो। किनभने विज्ञान र प्रविधि एसियाविरुद्ध प्रयोग गरियो अब कसैमा निर्भर हामी हुँदैनौं। अब उपनिवेशवादको जमाना रहेन। उपनिवेशका अवशेषलाई मन-मस्तिष्कबाट हटाउनुपर्छ,’ उनले भने।

 

प्रकाशित मिति: : 2021-01-11 23:41:00

प्रतिकृया दिनुहोस्