विद्यार्थीलाई चुरोट खाएकाे निहुँमा झापड हान्दा उर्लावारीस्थित राधिका माविका प्रधानाध्यापक कुमार पोखरेल कुटिएका छन्।
विद्यालयको गेट अगाडी सम्झाउने क्रममा उनीमाथि कोकको बोतलले विद्यार्थीले प्रहार गरेका हुन्।
इलाका प्रहरी कार्यालय उर्लावारीका निरीक्षक उद्धव पोखेरेलका अनुसार विद्यालयमा कक्षा १२ अध्ययनरत निश्चल गुरुङले गेट अगाडी चुरोट खाइरहेका थिए।
त्यही बेला प्रअ पोखरले गुरुङलाई चुरोट नखाभन्दा विवाद गरेका थिए।
‘विद्यार्थीले मुखमुखै लागेपछि प्रअ पोखरेलले झापड हानेका रहेछन्,‘उनले भने,‘त्यसैको झोंकमा गुरुङले उनको टाउकोमाथि कोकको बोतलले प्रहार गरेका रहेछन्।’
उक्त घटनामा संलग्न अन्य २ जना विद्यार्थी फरार छन्। गुरुङ राधिका माविमा कमर्स अध्ययनरत छात्र हुन्।
प्रअ पोखरेललाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगिएको छ।