अब लाइसेन्स ट्रायलमा सामान्य गल्तीले फेल नहुने !

सेतोपाटी

काठमाडाैं

सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। 

यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सेतोपाटीलाई जानकारी दिए। 

‘अहिले ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसगँ सवारीसाधन चलाउन जान्नेहरू पनि सामान्य गल्तीमा फेल हुँदा बिचौलियाकहाँ जाने समस्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,’ उनले भने। 

हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्कउनजेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

यो ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए।  

‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ हमालले भने।

समग्रमा ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने उनले बताए। 

‘५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ हमालले भने।

प्रकाशित मिति: : 2021-01-12 17:36:00

प्रतिकृया दिनुहोस्