'कोभिडको डर ले एक व्यक्ति तीन महिनादेखि लुकेर बसे'

बिबिसी

काठमाडाैं

महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्।

छत्तीस वर्षीय आदित्य सिंहलाई शनिवार विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका थिए।

उनीसँग पहिचानपत्र माग गरेका कर्मचारीहरूलाई सिंहले एउटा ब्याज देखाए।

तर त्यो ब्याज एक व्यवस्थापकको थियो र उनले अक्टोबरदेखि सो ब्याज हराइरहेको रिपोर्ट गरेका थिए।

कहाँबाट आएका थिए?

प्रहरीका अनुसार सिंह लस एन्जल‍सबाट शिकागोको ओ'हेर अन्तर्राष्ट्रिय विमानस्थलमा १९ अक्टोबरमा आइपुगेका थिए।

उनले विमानस्थलमा सो ब्याज भेट्टाएको र कोभिडका कारण घर जान डर लागेकाले त्यहीँ बसिरहेको राज्यका सहायक अभियोजनकर्ता केथीलिन हेगर्टीलाई उद्धृत गर्दै शिकागो ट्रिब्यूनले लेखेको छ।

ती व्यक्ति अन्य यात्रुहरूले दिएका खानेकुरामा निर्भर रहेको न्यायाधीशलाई उनले बताइन्।

कुक काउन्टीकी न्यायाधीश सुजान ओर्टिजले यो मुद्दाको प्रकृतिबारे आश्चर्य प्रकट गरेकी थिइन्।

"उसोभए एकजना अनधिकृत व्यक्ति ओ'हेर विमानस्थल टर्मिनल भवनमा १९ अक्टोबर २०२० देखि १६ ज्यानुअरी २०२१ सम्म बसिरहेको र कसैले उनीबारे त्यतिन्जेल थाहा नपाएको भनेर तपाईँ भन्दै हुनुहुन्छ? म यसबारे अलि प्रष्ट हुन चाहन्छु," न्यायाधीशले अभियोजनकर्तालाई सोधेकी थिइन्।

प्रकाशित मिति: : 2021-01-19 18:41:00

प्रतिकृया दिनुहोस्