कम्युनिस्ट र कांग्रेस असफल भए, अबकाे वैकल्पिक शक्ति जसपा: महताे

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा कम्युनिस्ट र कांग्रेस असफल भएको दाबी गर्दै वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको बताएका छन्।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुराको दाबी गरेका हुन्।

‘जनताले प्रतिगमनको साथ नदिएपछि जसपातिर जनलहर पैदा भएको छ। त्यसलाई रोक्न जसपा नेता मेरो पार्टीमा आउँदैछ भन्ने भ्रम फैलाउने र जनलहर रोक्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘तर यो सफल हुँदैन।’

उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नचाहेको पनि प्रस्ट पारे।

‘संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ,’ महतोले भने, ‘अदालतले जनतालाई न्याय दिन्छ भन्ने विश्वास छ, अहिले न चुनाव न त प्रतिनिधिसभाको पुनस्स्थापनले नै निकास दिन सक्छ।’

कम्युनिस्ट पार्टीहरूमा अहिले स्वार्थको लडाइ मात्र भएको उनले दाबी गरे। 

उनले भने, ‘बेइमानहरूको कुनै ठेगान छैन, कुन बेला फेरि प्रतिगमन सच्चियो भनेर गठजोर गर्दै कुर्सीमा बस्न पनि बेर लगाउँदैनन्।’ 

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिटलरशाही’ देखाएले पतन नजिक रहेको उनले बताए। 

‘केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित छ। लोकतन्त्रलाई धरापमा पार्दै प्रतिगमनतिर लम्केर नै ओलीले संसद बिघटन गरेका हुन्। प्रतिगमनकारीको पतन भएको छ र उनको पनि हुन्छ,’ महतोले भने।

प्रकाशित मिति: : 2021-01-22 12:53:00

प्रतिकृया दिनुहोस्