जंगल युद्धकला सिक्ने पहिलो महिला सिपाही : ‘भ्यागुता, सर्प र झारपात खाएँ, खाली खुट्टा कुदें’

लोकान्तर

काठमाडाैं

उच्च शिर, हँसिलो अनुहार अनि शरीरमा कमब्याट ड्रेस– केही दिनयता सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएकी एक महिला सिपाहीको तस्वीर हो, यो ।

तस्वीरमा देखिएकी महिला सिपाही हुन्– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ की राधिका थापा ।

सैन्य तालिममा निकै चुनौतीपूर्ण मानिने 'प्रतिविद्रोह तथा जंगल युद्धकला' तालिम गर्ने पहिलो महिला सिपाही भएकाले पनि उनको चर्चा हुनु स्वाभाविकै थियो ।

उनीभन्दा अघि कुनै पनि महिला सैनिकले यो सौभाग्य प्राप्त गरेका थिएनन्, अथवा साहस देखाएका थिएनन् ।

सामान्य परिवारमा जन्मिएकी राधिकाका बुवा कृषक हुन् ।

उनको परिवारमा सेनामा जागिर खाने कोही थिएनन् । सेना भन्नेबित्तिकै पुरुषको तस्वीर सम्झिने हाम्रो समाजमा महिला सिपाही हुनु आफैंमा पनि हिम्मतकै कुरा हो ।

त्यसो त पछिल्लो समय सेनामा महिलाको संख्या बढिरहेको छ । त्यसमा पनि यो निकै चुनौतीपूर्ण तालिमले उनलाई चर्चामा ल्याइदिएको छ ।

‘यो तालिम अहिलेसम्म कुनै पनि महिला सैनिकले गरेका छैनन्, म पहिलो हो,’ राधिकाले लोकान्तरसँग भनिन् ।

राधिका विगत ८ वर्षदेखि प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयमा कार्यरत छिन् ।

तालिम सम्पन्न गरेर फर्किने सैनिकहरूले उनलाई त्यहाँको अनुभव सुनाउँदा रहेछन् । उनको मनमा पनि भित्रभित्रै उक्त तालिम गर्ने इच्छा पलाउँदै गयो ।

‘यसभन्दा अगाडि पुरुष सैनिकहरूले तालिम गरिरहेको देख्दै आएकी थिएँ । त्यसले गर्दा महिलाले पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । शारीरिक अवस्थाले अप्ठ्यारो हुन्छ कि भन्ने त थियो, तर तालिम गर्न सक्छु भन्ने आँट आयो,’ उनले लोकान्तरसँग भनिन् । 

प्रकाशित मिति: : 2021-01-24 17:06:00

प्रतिकृया दिनुहोस्