दुईचार कुलंङ्गारले म पृथ्वीमै नरहोस् भन्ने चहाना राखेका छन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा समूहले आफू पृथ्वीमै नरहोस् भन्ने चहाना राखिरहेको आरोप लगाएका छन्। 

दाङको देउखुरीमा सोमबार आयोजित सभामा नेपाल–प्रचण्ड समूहलाई इंगित गर्दै २/४ कुलंङ्गार भष्मासुरले आफू पृथ्वीमै नरहोस् भन्ने चहाना राखिरहेको आरोप लगाएका हुन्। 

‘पार्टीका केही व्यक्ति म बिरामी भएँभन्दा गदगद पर्छन्। निको भएर फर्किएँ भन्दा लुत्रुक्क पर्छन्,’ उनले भने,‘उनीहरू केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने चाहन्छन्।’

प्रधानमन्त्री ओलीले नेकपाबाट दुईचारले पार्टी छाड्दैमा आफूहरूलाई फरक नपर्ने समेत बताए। 

‘दुईचार कुलांङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन’ उनले भने‚ ‘स्थायित्व भंग गर्ने अस्थिरता मच्चाउनेहरूले लोकतन्त्र र स्थायित्वको कुरा गर्ने? २/४ कुलंङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन।’

ओलीले निर्वाचन नचाहने समूह प्रजातन्त्र विरोधी र लोकतन्त्र विरोधी भएको बताए।

 ‘काम गर्न नदिनेलाई जनताले दण्डित गरून् भनेरै निर्वाचन घोषणा गरिएको हो। अब जनताले दण्डित गर्छ। मैले निर्वाचनमा गएर जनताको मत जितौँ भनेको छु’, उनले भने।

ओलीले नेकपाका असन्तुष्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई इंगित गर्दै निर्वाचन आयोगले गतिलो झापड दिएको बताए।

‘केही ब्यक्ति पार्टीको बैठकमा नआएर  बाहिर चौतारमा बसेर आफू अध्यक्ष भए।

ब्याङ्कवेट र रेस्टुरेन्टमा बसेर केपी ओलीलाई पार्टीबाट र साधारण सदस्यबाट निस्कासन गरेछन्। अध्यक्ष पनि थपेछन्। तर निर्वाचन आयोगले आइतबार मान्यता नदिने निर्णय गरेछ’, उनले भने।

प्रकाशित मिति: : 2021-01-25 16:10:00

प्रतिकृया दिनुहोस्