चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त

चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ।

 एफए कपको चौथो राउन्डमा लुटोनमाथि ३–१ को जित निकालेको भोलिपल्टै चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो। 

अघिल्लो सिजनको उनको प्रशिक्षणमा चेल्सीले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गराएपनि यो सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बनेको छ। सोही कारण क्लबले उनलाई बर्खास्त गरेको हो।

 लाम्पार्ड च्याम्पियनसिप क्लब डर्बी काउन्टिको बसाईं बिट मार्दै ४ जुलाई २०१९ मा ३ वर्षको लागि लन्डन क्लब चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए। यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको थियो।

चेल्सी यो सिजन २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ। 

खेलाडीको रुपमा लाम्पार्डले चेल्सीमा १३ वर्ष बिताउँदा ११ मुख्य उपाधि जितेका थिए। उनले चेल्सीबाट २००१ देखि २०१४ को सिजनसम्म ६४८ खेलमा २११ गोल गरेका थिए। प्रशिक्षकको रुपमा उनी उपाधिविहीन बने।

चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको छ। टुचेल  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बर्खास्तीमा परेका थिए।

प्रकाशित मिति: : 2021-01-26 06:11:00

प्रतिकृया दिनुहोस्