बहसलाई ‘तमासा’ भन्ने प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन्।

वरिष्ठ अधिवक्ता डा. आचार्यले ५२२१ र अधिवक्ता न्यौपानेले ५२२६ नम्बरमा प्रधानमन्त्रीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन्।

प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए।

निवेदनमा प्रधानमन्त्रीले कानुन व्यवसायी र अधिवक्तामाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ।  

यस्तै, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ।

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीले प्रतिनिधिसभा विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका थिए। उनीहरुले असंवैधानिक तवरबाट सरकारले संसद् विघटन गरेको बताएका थिए।

पूर्वसभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ।

प्रकाशित मिति: : 2021-01-26 16:12:00

प्रतिकृया दिनुहोस्