वामदेवले भने- 'ओली र प्रचण्डको भन्दा बढी समर्थन मैले पाउँछु'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले काठमाडौंमा केपी ओली र प्रचण्ड समूहको भन्दा बढी जनसमर्थन जुटाउने बताएका छन्। पार्टी एकता जोगाउन लागेकाले आफूले साविक नेकपाका सैबै कार्यकर्ताले साथ दिने उनको विश्‍वास छ। ‘काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु' उनले भने, ‘त्यो शक्ति निर्माण हुँदैछ।'

नेकपा एकता अभियानको घोषणा गर्दै नेता गौतमले आफू नयाँ पार्टी बनाउन नलागेको समेत स्यष्ट पारे। उनले भने, ‘म पार्टी एकताकै पक्षमा छु। मलाई किन चाहियो नयाँ पार्टी?'

पार्टी फुटे पनि फुटोस् भनेर प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए। ‘प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए ओलीको क्या शान हुन्थ्यो', उनले भने।

नेकपा फुट्दा कांग्रेसलगायतका दलहरु पनि खुशी नभएको उनले बताए। गौतमले प्रचण्ड र ओलीतिर कार्यकर्ता पनि एकता अभियानतिर ल्याउने र पार्टी एकता गर्ने दाबी गरे। 

कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रण गरिएको एक सहभागीले जनाकारी दिए। कार्यक्रम सुरु भएको केही समयसम्म दुवै अध्यक्ष पुगेका छैनन्।

उपाध्यक्ष गौतमले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै नेकपालाई फेरि एकजुट बनाउनका लागि पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेको बताउँदै आएका छन्।

गौतमको एकता अभियान घोषणासभामा नेकपा नेता हरि पराजुलीसँगै गौतमपत्नी तुलसा थापा समेत मञ्चमा देखिएकी छन्

प्रकाशित मिति: : 2021-01-27 13:44:00

प्रतिकृया दिनुहोस्