भूपूपूर्व ब्रिटिश गोर्खा अभियन्ता पूर्वविद्यार्थी नेता डा. चन्द्र लक्सम्बा रहेनन्

बेलायतको नेपाली समुदायका स्थापित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको मंगलबार बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बेलायतको उक्त अस्पतालमा भर्ना गरिएको थियो। 

डा. लक्सम्बालाई कोरोना संक्रमणपछि विगत ९ दिनदेखि अस्पतालमा राखेर उपचार गराइरहेको थियो। सोमबार अचानक मस्तिष्कघात भएपछि भेन्टिलेटरमा राखेर थप उपचार गरिएको थियो। उपचारकै क्रममा मंगलबार उनको निधन भएको परिवारले जानकारी दिएको छ। 

ताप्लेजुङ जिल्लाको सिकैंचामा जन्मिएको उनी विद्यार्थीकालदेखिनै राजनितिमा सक्रिय थिए। २०३६ सालमा काठमाडौंस्थित अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापति समेत भएका थिए।०३६ सालको विद्यार्थी आन्दोलनमा उनी अनेरास्ववियूको नेताका रुपमा अगुवाइ गरेका थिए।

अनेरास्ववियूका पूर्वमहासचिवसमेत रहेका नेकपा नेता एवम् पूर्वमन्त्री घनश्याम भुसालले डा. लक्सम्बालाई सम्झँदै आफ्नो फेसबुक वालमा लेखेका छन्, 'मेरा मित्र, सहयात्री डा. चन्द्र लकसम्वाको मष्तिष्कघातका कारण असामयिक निधन भएको समाचारले स्तब्ध भएको छु। डा. लकसम्वासँगका सहयात्रा र सहकार्यको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु। शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु।'

०३६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व गर्नेमध्येका एक अनेरास्ववियूका तत्कालीन अध्यक्ष एवम् चीनका लागि पूर्व राजदूत टङ्क कार्की लेख्छन्, 'पुराना साथि, राजनीतिक सहकर्मी चन्द्र लक्सम्बाको लण्डनमा मस्तिष्क घातले असामयिक निधन भ'को दुखद खबर सुन्नु पर्यो | 

हार्दिक श्रद्धाञ्जलि चन्द्रजी ! शोक सन्तप्त परिवारमा समवेदना !'

डा. लक्सम्बालाई स्मरण गर्दै पूर्व विद्यार्थी नेता कोमल भट्टराईले लेखेका छन्, 'प्यारो मित्र डा. चन्द्र लकसम्वाको मष्तिष्कघातका कारण अकल्पनीय र असामयिक मृत्यु भएको समाचार सुन्दा स्तव्ध भएको छु। यस घडीमा उहाँसँग गरिएका् सहयात्रा र सहकार्यहरुको स्मरण गर्दै उहाँलाई श्रद्धाञ्जलि गर्दछु साथै शोकसम्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु।'

बेलायती गोरखा सेनामा उनले १९ वर्ष सेवा गरे। सेवानिवृत्त भएपछि उनले सरे युनिभर्सिटी युकेबाट पिएचडी गरेका थिए। 

डा. लक्सम्बाले अक्सफोर्ड युनिभर्सिटी, बेलायतमा रिसर्च फेलोका रुपमा काम गरे। उनी ‘सेन्टर फर नेपाल स्टडिज’ (सिएनएस यूके) का पूर्व अध्यक्ष थिए। बेलायतमा नेपालीको जनगणना गर्न उनको उल्लेख्य योगदान थियो। 

गोर्खा सम्बन्धी विभिन्न लेख र स्तम्भहरु नियमित लेखिरहने डा. लकसम्बा वेलायत र नेपालमा वौद्धिक क्षेत्रमा कहलिएका ब्यक्ति थिए। नेपाललाई असाध्यै माया गर्ने उनी आफू जन्मेको माटोलाइ गुण तिर्न पछिल्लो समय नेपालमा धेरै समय वस्दै आएको र नेपाल ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा समेत कार्यरत थिए। 

नेपाल अध्ययन केन्द्र, युकेद्वारा तयार पारिएको 'ब्रिटिस गोर्खा निवृत्तिभरणसम्बन्धी नीतिहरु र भूतपूर्व गोर्खा अभियानःएक समीक्षा' नामक प्रतिवेदनको पुस्तकका सह-लेखक पनि हुन्। 

उनलाई केही महिनाअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको तर्फबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा सिनेट सदस्यमा मनोनित गरेका थिए।

बेलायत तथा नेपालमा समेत बौद्धिक छवि बनाएका उनी भूतपूर्व गोर्खा सैनिक आन्दोलन एवम् एनआरएनएको अभियानमा निरन्तर योगदान गर्दै आएका थिए।

ब्रिटिस गोर्खाका मागहरु छलफल गरी प्रतिवेदन तयार गर्न २९ मार्च, २०१७ मा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाका प्रतिनिधि सम्मिलित त्रिपक्षिय १० सदस्यको प्राविधिक कार्यदलमा गोर्खा निवृत्तिभरण विशेषज्ञ तथा भूपू गोर्खा सल्लाहकारको रुपमा डा. चन्द्र लक्सम्बा थिए। उनी गेसोको सल्लाहकार समेत थिए। उनका श्रीमती र दुई छोरा युकेमा बस्दै आएका छन्।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले विज्ञप्ति निकाल्दै डा. लकसम्वाको निधन प्रति गहिरो चोट तथा सम्वेदना ब्यक्त गरेको छ। गोरखा अभियानमा निरन्तर लागिरहेका एक शालिन र वौद्धिक व्यक्तित्वको धनि डा.लक्सम्बाको निधनले अपुरणीय क्षति पुगेको अध्यक्ष कृष्णकुमार राईले बताए। ‘उहाँको निधनले हामी गोरखा समुदायलाइ स्तब्ध तुल्याएको र अपुरणीय क्षति पुगेको छ। वहाँको शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,’ राईले भने, ' हामीले एक असल मित्र तथा सल्लाहकार गुमायौँ।'

प्रकाशित मिति: : 2021-01-27 17:11:00

प्रतिकृया दिनुहोस्