लिभरपुल लयमा फर्किदै, टोटेनहाम आफ्नै मैदानमा पराजित

साडियो माने र एलेक्जेण्डर आर्नोल्डको प्रभावशाली खेलमा लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष चार स्थानमा पुनः फर्किएको छ। 
कप्तान हेरी केनको अनुपस्थितिमा टोटेनहाम हट्स्परलाई उसैको घरेलु मैदानमा १–३ गोलले पराजित गर्दै लिभरपुल २० खेलमा ३७ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो।

पछिल्लो पाँच खेलमा जित निकाल्न असफल लिभरपुलले बिहीबार राती निकै प्रभावशाली खेल प्रदर्शन गरेको थियो। खासमा माने र अर्नोल्डले उत्कृष्ट प्रदर्शन गरे। लिभरपुलले गरेको तीन गोलमध्ये दुईमा उनीहरूको सहयोग थियो। एक गोल ब्राजिलियन स्ट्राइकर रोबेर्टो फिर्मिनोले गरे।

लिभरपुलपछिल्लो पाँच खेलमध्ये चारमा गोल गर्नबाट चुक्दै आइरहेको थियो। टोटेनहामले पहिलो हाफमै कुर्कुच्चाको समस्याका कारण कप्तान केनलाई गुमायो। लिभरपुलका लागि मानेको लो क्रसमा फिर्मिनोले पहिलो हाफको ४५ मिनेटको खेल सम्पन्न भएपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा गोल गरे।

फ्रेञ्च गोलकिपर ह्युगो लोरिसले दोस्रो हाफको खेल सुरु भएको दुई मिनेटमा अर्को गल्ती गरे। जसका कारण लिभरपुलले राइट–ब्याक ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डो गोलमा दोस्रो अग्रता लियो। 

टोटेनहामका लागि डेनिस मिडफिल्डर पियरे–इमिली होेबियागले ४९ मिनेटमा एक गोल फर्काए पनि त्यो पर्याप्त भएन। उनले २० यार्डबाट गोल गरेका थिए। तर, खेल लिभरपुलले पुरै आफ्नो नियन्त्रणमा राख्यो। लिभरपुलका लागि तेस्रो गोल ६५ मिनेटमा मानेले आर्नोल्डको पासमा गरेका थिए।

लिभरपुल हाल ४ अंकले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा तल छ। तर, सिटीले एक खेल कम खेलेको छ।

प्रकाशित मिति: : 2021-01-29 07:16:00

प्रतिकृया दिनुहोस्