विश्व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण थला परेको ललितकलाका गतिविधि झण्डै एक वर्षपछि पुनः चलायमान हुन थालेको छ।
कोभिड-१९ को सङ्क्रमण दरमा आएको ह्राससँगै कला सिर्जनाले गति लिन थालेको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार भौतिक उपस्थितिसहित चित्रकलाका कार्यक्रम तथा प्रदर्शनी शुरु भएका छन्। नाफाका कुलपति कान्छाकुमार कर्माचार्य विस्तारै कला सिर्जना, पुस्तक प्रकाशन तथा कार्यशाला हुन थालेको र यसले आशा जगाएको बताउछन्। त्यही कारण पनि वैशाखमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीलाई भौतिक रुपमै गर्ने योजनाका साथ अघि बढेको उनको भनाइ थियो।
नाफाले हालैमात्रै सचित्र बाल पुस्तकका लागि दृष्टान्त चित्रकला कार्यशाला सम्पन्न गर्नु त्यसैको एउटा उदाहरण हो। चित्र भाषालाई बुझाइको सशख्त माध्यामको रुममा लिइन्छ। एउटा चित्रले एक हजार शब्द बोल्छ। चित्रले बोल्ने मात्रै होइन मानिसलाई सजिलै बुझाउन पनि मद्दत गर्छ। चित्र सिर्जनाले झै मुलुकको कला संस्कृति र पहिचानलाई पटक्कै टिपेर अन्तरराष्ट्रियकरण गर्न अरु चिजले सक्दैन। लेख्य वा कथ्य भाषा नबुझे पनि कलाकारिताको भाषा सजिलै बुझ्न सकिने हुँदा विश्वसम्बन्ध विस्तार र पर्यटन प्रवद्र्धनमा चित्र सिर्जना महत्वपूर्ण माध्याम बन्न पुग्छ। त्यसैले सिर्जनाको गति बढाउन सरकारी सहयोग पनि जरुरी हुने कलाकारहरु बताउँछन्।
कला समीक्षक रमेशनाथ खनाल कोरोनासँग चित्र सिर्जनाले नयाँ मोड लिएको स्मरण गर्छन्। 'एक त भर्चुअल विधिलाई अपनाउन थालिएको छ, त्यसका साथै युवाको सक्रियताले सिर्जनात्मक कलाको विकास हुन थालेको छ', नाफाका प्राज्ञसमेत रहेका खनाल भन्छन्, 'अन्तराष्ट्रियस्तरको कार्यक्रममा सहभागि भएर नेपाली चित्रकारले यहाँको संस्कृतिलाई आधुनिकतासँग फ्यूजन गर्न थालेका छन्।'
प्राय यस्ता काममा नेपाली युवा कलाकारको सक्रियता देखिएको उनी स्मरण गर्छन्। खनाल सिर्जना के हो, कसरी सिर्जना गरे उत्कृष्ट हुन्छ, भनेर उनीहरु गुणस्तरमा लाग्नु कला क्षेत्रकै लागि महत्वपूर्ण हो भन्छन्।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केली सारमाभन्दा कोरोनाको सङ्क्रमणका बेला चित्र सिर्जना कोठाभित्र सीमित थियो भन्छन्। केही भर्चुअलबाट गतिविधि भए भने अन्तर्राष्ट्रिय रुपमा सहभागी भएर नेपाली कला अनलाइनबाट विश्वव्यापी बनाइएको उदाहरण छ। उनी कोरोना सङ्क्रमण घटेपछि अहिले बाह्य गतिविधि बढेको अनुभव सुनाउछन्। उनका अनुसार आर्ट ग्यालरीमा कला प्रदर्शनी हुन थालेको छ। विभिन्न जिल्ला र उपत्यकामा प्रत्यक्ष रुपमा चित्रकला कार्यशाला, दृष्य सिर्जनाका गतिविधि बढेको छ। जिल्लास्तरमा साप्ताहिक कला कार्यशाला शुरु भएको छ। बिक्री पनि शुरु भएको थुम्केली बताउछन्।
गत वर्ष शनिबारीय कला कार्यशालाको अगुवाई गरेर एउटा छाप छोड्न सफल कलाकार दिवेश प्रधान नेतृत्वको टोलीले पनि अहिले त्यो अभियानलाई निरन्तरता दिन थालेको छ। धुलिखेल, चाँगुनारायण तथा अन्य सम्पदा क्षेत्रमा पुगेर चित्र सिर्जना गर्न थालिएको प्रधान बताउछन्। उनले झण्डै दुई महिनादेखि नै गति बढाएको सुनाए।
कोरोना कालमा देश विदेशमा नेपाली कला संस्कृतिको पहिचान दिँदै प्रशिक्षणमा सहभागी अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ पनि ललितकलाले गति लिन थालेकोमा खुसी व्यक्त गर्छन्।
कोरोनाले अनलाइन कला कार्यशाला र प्रदर्शनीमा कलाकारलाई अभ्यास्त गराएको अनुभव सुनाउने गुरुङ कोरोना घटेसँगै अवस्था परिवर्तन भएर सिर्जनाका ढोका विस्तारै खुल्दै जाने बताउछन्। 'सिर्जनाका क्षेत्र बौरिन थालेको छ, विस्तारै ग्यालरी खुलिरहेको छ, यसको अर्थ कलाका गतिविधि शुरु भयो भन्ने हो' गुरुङ थप्छन्, 'कलाको व्यापारले गति लिएको छ।'
सिर्जनालाई अझै गति दिन नेपाल सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले खास योजनासहित अघि बढ्न जरुरी रहेको कलाकारको प्रतिक्रिया छ। मुलुकमा बाह्य जगतसँग सम्पर्क सेतु बन्दै पर्यटन प्रवद्र्धनमा सिर्जनाको अहम भूमिका हुन्छ भन्ने कुरा विर्सन नहुने कला समीक्षकहरु बताउछन्। रासस