आठ पल्टकी च्याम्पियन नवीताद्धारा टेबल टेनिसको एकेडेमी सञ्चालन

काठमाडौंको खुसिबुस्थित पलेस्वान मार्गमा ८ पटककी टेबल टेनिस च्याम्पियन नवीता श्रेष्ठद्धारा एकेडेमी सञ्चालनमा आएको छ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विघटित प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच एकेडेमीको उद्घाटन गरेका थिए। एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छन्।

सञ्चालक नवीताले धेरै अगाडिदेखि एकेडेमी सञ्चालन गर्ने सोच रहेको र परिवारको सहयोग र साथ रहेको बताइन्। 

‘डिप्लोमा पढ्दादेखि एकेडेमी सञ्चालन गर्ने सोच बनाएको थिए। १३ औं साग पश्चात खेलाडीभन्दा पनि कोचको भूमिकामा आफूलाई उभ्याउने सोच बनाएको थिए। त्यसैलाई यथार्त प्रदान गर्न एकेडेमी स्थापना गरेको हो’ उनले भनिन्। 

विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको बिकासले आफूलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको उनले सुनाइन्। 

‘कतिपय राम्रा खेलाडीहरु आर्थिक अभावका कारण तथा समयको अभावले पढाई र खेललाई सँगसँगै लैजान नस्कदा खेल छोड्नु पर्ने अवस्था देखिएको थियो। एकेडेमीले यसको सम्बोधन गर्नेछ,’ उनले बताइन्। 

आगामी दिनमा खेलाडीका लागि विभिन्न विद्यालयमा छात्रबृत्तिका लागि पहल गर्ने साथै छात्राबास समेत सञ्चालन गर्ने सोच बनाएको उनले बताइन्। 

नेपाल टेबल टेनि संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले नवीतालाई शुभकामना दिएका थिए।

प्रकाशित मिति: : 2021-02-01 22:05:00

प्रतिकृया दिनुहोस्