नेकपा र सूर्य चिन्ह दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा बुझायो पत्र (अपडेट)

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल पार्टी र सूर्य चिन्ह दाबी गर्दै निर्वाचन आयोग पुगेका छन्। प्रचण्ड–नेपाल समूहले आयोग पुगेर नेकपा र चुनाव चिन्हमा आधिकारिकता दाबी गरेकाे पत्र बुझाइका हुन्।

पत्र बुझाउन सो समूहका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु आयाेगमा पुगेका थिए ।  आयोग पुगेको नेकपाको समूहले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ। सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो।

यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार आफूहरु आधिकारिक भएको भनी प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष दुवैगरीले गरेको दाबी अस्वीकार गरेपछि  मंगलबार प्रचण्ड–नेपाल पक्षले सो ऐनको दफा ४३ र ४४ अनुसार नेकपाको नाम र सूर्य चिन्हमा दाबी गरेको हो।

सो दफाअनुसार बहुमत जुन पक्षमा छ सोही पक्षले आधिकारिकता पाउने हुँदा आफूहरुले नै पार्टीको आधिकारिकता पाउनेमा कुनै द्विविधा नरहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताए।

निर्वाचन आयोग पुगेका स्थायी समिति सदस्य राजेन्द्र पाण्डेका अनुसार उनीहरुले २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर आयोगलाई बुझाएका छन्। ‘निर्वाचन आयोगले नेकपाको ४४१ सदस्यीय कमिटी नै आधिकारिक हो भनेपछि हामीले सोहि कमिटीका २७५ जनाको हस्ताक्षर बुझाएका छौं,’ पाण्डेले भने।

 

ऐनको उक्त दफामा दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद टुंगो लगाउनु त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: : 2021-02-02 11:36:00

प्रतिकृया दिनुहोस्