साउथहाप्टनको पोस्टमा म्यानचेस्टर युनाइटेडको ऐतिहासिक ९ गोल

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

सम्भवत कसैले सोचेका थिएनन्, मंगलबार राती २६ वर्षअघि इपस्विच टाउनलाई पराजित गरेको नाटकीय खेलको पुनराबृत्ति ओल्ड ट्राफोर्डमा हुनेछ भनेर।

म्यानचेस्टर युनाइटेडले साउथहाम्पटनलाई आफ्नो घरेलु मैदानमा ९–० गोलले पराजित गर्ने क्रममा १९९५ को झझल्को दियो। नौ खेलाडीमा सिमित साउथहाम्पटनलाई पराजयको लज्जास्पद स्वाद चखाउने क्रममा एन्थोनी मार्सेलले दुई गोल गरेका थिए। युनाइटेडले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

खेल सुरु भएको दुई मिनेटमै एलेक्जान्ड्रे जान्केविचले रातो कार्ड पाएपछि साउथहाम्पटनको खेल तासको पत्ताझै छताछुल्ल भएको थियो। अझ, ८६ मिनेटमा यान बेडनारेकले अर्को रातो कार्ड पाएपछि भ्रमणकारी टोली नौ खेलाडीमा सिमित भयो। उनले नै पहिलो हाफको ३४ मिनेटमा एउटा आत्मघाती गोल गरेका थिए।

युनाइटेडले खेल सुरु भएको १८ मिनेटमै आरोन वान–बिसाकाको गोलमा अग्रता बनाएको थियो। २५ मिनेटमा मार्कुस रासफोर्ड र ३९ मिनेटमा इडिसन काभानीले गोल थपेपछि पहिलो हाफमा चार गोलको अग्रता सम्भव भयो। दोस्रो हाफको पछिल्लो २१ मिनेटभित्र युनाइटेडले पाँच गोल थपेको थियो। मार्सेलले आठ खेलमा गोल गर्न नसकेको अवस्थालाई उल्टाउदै ६९ र ९० मिनेटमा दुई गोल गरे। स्कट म्याकटोमिनेले ७१, ब्रुनो फर्नान्डेसले ८७ मिनेटमा पेनाल्टीमार्फत तथा डान जेम्सले स्टपेज टाइमको तीन मिनेटपछि गोल गरेका थिए।

युनाइटेडको विपक्षी टोलीविरूद्ध यो नै फराकिलो गोलको विजय होइन। १९५६ मा उसले एन्डरलेच्टलाई १०–० गोलले हराइसकेको छ। यो जितसँगै युनाइटेडले लिगको शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग ४४ अंकको बराबरी गरेको छ। तर, सिटीले २ खेल युनाइटेडभन्दा कम खेलेको छ।

प्रकाशित मिति: : 2021-02-03 08:31:00

प्रतिकृया दिनुहोस्