‘उत्तराखण्डजस्तै खतरामा छ नेपाल’

अनलाइनखबर

काठमाडाै‌ं
च्छोरोल्पा हिमताल / सुमन दाहाल
च्छोरोल्पा हिमताल / सुमन दाहाल

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुट्दा गएको बाढीको कारण दुई दर्जनको मृत्यु भइसकेको छ भने डेढ सयभन्दा बढी सम्पर्कविहीन छन् । यद्यपि अझै एकिन तथ्यांक आउन बाँकी छ । यसअघि २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको ठूलो क्षति पुर्‍याएको थियो ।

तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुटेर त्यसबाट विशाल परिमाणमा पानी निस्किदा चमोलीमा घटना भएको हुन सक्ने भारतीय विज्ञहरुले बताएका छन् । विज्ञहरुले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रमा तीव्र गतिमा हिमनदी पग्लने हुँदा खतरनाक स्तरमा हिमतालहरू विस्तार भइरहेको र नयाँ हिमताल निर्माण भइरहेको पनि बताएका छन् ।

नेपालका हिमतालहरु पनि उही रेन्जमा भएकाले उत्तराखण्डको अवस्था नेपालमा पनि आउनसक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक दश वर्षजसोमा ठूला बाढीहरु आएका छन् । कुनै पनि समय नेपालमा ठूलो दुर्घटना नहोला भन्न सकिदैन ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा तीन हजार बढी हिमतालहरु छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् । त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् जसले नेपालमा कुनै पनि बेला असर पुर्‍याउन सक्छ ।

प्रकाशित मिति: : 2021-02-09 12:01:00

प्रतिकृया दिनुहोस्