अब राष्ट्रिय ललितकला प्रदर्शनी व्यवस्थित

Photot - NafaNepal.org
Photot - NafaNepal.org

ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ।

इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार कर्माचायले अबका प्रदर्शनीहरु कार्यविधिभन्दा बाहिर गएर गर्न नपाइने जानकारी दिए। यसपालि नयाँ प्रयोग गरेर व्यवस्थित गरिएको र आगामी प्रदर्शनी पनि कर्याविधिअन्तर्गत नै रहने गरी सञ्चालन हुनेउनकाे भनाइ छ।

नेपाली ललितकलाको संरक्षण संवद्र्धन र प्रवद्र्धनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ को अधिनमा रही कार्यविधि बनाएर लागू गरिएको हो।

आगामी वैशाख २ गते सञ्चालन हुने प्रदर्शनीको आवश्यक तयारीसमेत शुरु भइसकेको कुलपति कर्माचार्य बताउँछन्। त्यसका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ। त्यस्तै कार्यकारी समिति र उपसमितिहरु गठन गरेर कार्यप्रक्रिया थालिएको छ।

मङ्गलबार बसेको मूल समितिको पहिलो बैठकले उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा कार्यकारी समिति बनेको र त्यसको मातहतमा रहने गरी अन्य उपसमितिहरु गठन गरिएको छ। 'यसअघि चित्रहरु बुझाउनका लागि सार्वजनिक सूचना जारी गरिएको थियो मङ्गलबार भने औपचारिकरूपमा तयारी शुरु भएको छ, अब काम तीव्ररूपमा अघि बढ्छ', कर्माचार्यले भने।

गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो। औपचारिकरूपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले बताए। यसपालि भने भौतिक उपस्थितिमै र अनलाइन गरी दुवै प्रक्रियाद्वारा प्रदर्शनी गरिने जनाइएको छ।

प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाई लागू गरिएको हो। तोकिएको नियम, मापदण्ड र कार्यविधिअनुसार प्रदर्शनी सञ्चालन हुँदा यसको गरिमा बढ्ने कलाकारको विश्वास छ।

नाफाका अनुसार प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको जनाएको छ। यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरूपमा विधा तोकेको छ। सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ। प्रतिष्ठानले कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आ–आफ्ना कलाकृति बुझाउन सार्वजनिक सूचना जारी गरिएको थियो। पर्याप्त मात्रामा कलाकृति नआएपछि समयसीमा १५ दिन थपिएको कुलपति कर्माचार्यले बताए। 

यसरी छुट्याइएको छ विधा

यसपालि परम्परागत चित्रकला, आधुनिक चित्रकला (समसामयिक चित्र तथा प्रिन्ट मेकिङ कला), परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीयकला), हस्तकला/शिल्पकलाको विधा छुट्याइएको छ। यस्तै वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत वास्तुकला (शास्त्रीय) र अन्य सिर्जनात्मक कलातर्फ प्रतिस्थापन तथा भावभङ्गी कला, ग्राफिक्स कम्युनिकेशन (मौलिक, दृष्टान्त कला, कार्टुन, पोष्टर, डिडिटल कला) तथा सिर्जनात्मक छवि कला र सिर्जनात्मक भिडियो कला समावेश गरिएको छ।

नाफाका अनुसार प्रदर्शनका लागि एक वर्षभित्रै रचना गरिएको कलाकृति हुनुपर्ने छ। माध्यम जुनसुकै भए पनि मान्य हुने कार्यविधिमा उल्लेख छ। कलाकार भने १८ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने कार्यविधिमा स्पष्ट तोकिएको छ। बढीमा दुई थान कलाकृति बुझाउनुपर्ने, विधागत प्रादेशिकरूपमा पुरस्कृत गरिने, कलाकार दुई विधामा सहभागी भए पनि पुरस्कार भने एक विधामा मात्रै पाइने व्यवस्था गरिएको छ। प्रदर्शनीमा सहभागी हुने कलाकृतिको आकारसमेत तोकिएको छ। सोहीअनुसार आएका कलाकृति मात्रै मान्य हुनेछ।

यस्तो छ पुरस्कारको व्यवस्था 

विधागतरूपमा राष्ट्रिय तथा विशेष पुरस्कार, प्रादेशिक पुरस्कार वितरण गरिने छ। चित्रकलातर्फ आधुनिक र परम्परागतमा एक÷एक जनालाई राष्ट्रिय र दुई/दुई जनालाई विशेष पुरस्कार प्रदान गरिने छ। मूर्तिकलातर्फ (परम्परागत र आधुनिक) मा तथा हस्तकला÷शिल्पकला एवं लोककलातर्फ पनि सोहीअनुसार विधागतरूपमा नै पुरस्कार प्रदान गरिने छ तर तोकिएको विधागतमा भने कम्तीमा पाँच कलाकारको सहभागिता अनिवार्य गरिएको छ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई राष्ट्रिय ललितकला पुरस्कार र चार जनालाई विशेष पुरस्कार प्रदान गरिने छ। यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार तथा प्रादेशिक पुरस्कारसमेत वितरण हुनेछ। रासस

प्रकाशित मिति: : 2021-02-10 10:54:00

प्रतिकृया दिनुहोस्