माधवनारायणका व्रतालु शेषनारायणमा

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आज बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन्। सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो। 

माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा आराधना गर्ने प्रचलन रहेको छ। शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी बिहीबार व्रतालु त्यहाँ पुगेका थिए। 

 माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ।  पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गर्छन्। व्रतालु पैदल आए पनि सामान बोक्न भने २० वर्षदेखि यातायातको व्यवस्था हुन थालेको छ।  माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने परम्परा छ।

तीर्थयात्राका लागि व्रतालु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए। त्यस पशुपतिमा बास बसे। माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ। त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन्। दोस्रो शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ।

माघकृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा स्नान, पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं जयबागेश्वरीसम्म जल चढाउने विधि पूरा गरेपछि बिहीबार दिउँसोको भोजन व्रतालुले सानो गौचरणमा गरेको पत्रकार पवनलाल श्रेष्ठले बताए। 

नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल माधवनारायणको कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ। 

पशुपतिमा माधवनारायण व्रतालु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। बिहीबार व्रतालुले पशुपति नछोडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको थियो। 

 विगत वर्षमा करीब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ।

यसपटक महिला ३५ र पुरुष १४ गरी ४९ जना व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए। 

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ। कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिनाहिच्किचाहट शालीनदीमा आइरहेका छन्। 

शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शाली नदीमा आएको समितिले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-02-12 14:08:00

प्रतिकृया दिनुहोस्