जनकपुरमा तिन दिने महिला हस्तकला मेला सुरु

विजय साह

जनकपुर 

स्थानीय महिलाहरुको सीप तथा कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आइतबारदेखि तिन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा तिन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको हो।

जनकपुरधामस्थित गोपाल धर्मशालामा सुरु भएको यो प्रदर्शनी मंगलबारसम्म चल्ने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए।

स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षणसम्वर्द्धन, महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको शाक्यले बताए।

प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरुलाई सहभागी गराइने उनले बताए। यस मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रदर्शनी अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

५० भन्दा बढी स्टलहरु लगाइएको प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बांसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, ऊनी तथा सुतीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिएको छ।

प्रकाशित मिति: : 2021-02-14 18:57:00

प्रतिकृया दिनुहोस्