राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्।
आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन्।
अध्यक्ष मगरले न्यायका लागि अनशनमा बस्नुभएकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गरे।
भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ।
अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ। रासस