पार्टीभित्रैबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद् विघटन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटनको कदम चाल्नु परेकाे बताएका छन्।

तीन वर्ष पूरा भएको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी भित्रैका केही शीर्ष नेताहरुको कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भन्नेमा हरदम सचेत थिएँ । समयभन्दा अगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस् भनेर मैले धेरै प्रयास गरेँ तर सफल भएन, समानान्तर सत्ता सञ्चालनको प्रयास भयो ।’

सरकार गठन भएदेखि नै यस किसिमका प्रयासहरु आफ्नै पार्टीबाट भएकोले संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय लिनुपरेको उनले बताए।

उनले सुरुदेखि नै बाधा गरिएका भए पनि पछिल्लो एक वर्षदेखि त समानान्तर सत्ता नै सञ्चालन गर्न खोजिएको आरोप लगाए।

सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले पुष पाँच गते अपरान्हसम्म पनि संसद विघटनको निर्णयमा जान नपरोस् भनेर आफूले प्रयास गरेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अचानक निराधार र झुटा फौजदारी अभियोग छापेर, देशभरि वितरण गरेर सरकारमाथि हमला गर्ने बाटोमा हिँडेका नेताहरुलाई सम्झाउने र परिस्थितिलाई सकारात्मक बनाउने प्रयास लगातार गरिरहेँ । र यो प्रयास गत पुष ५ गते विघटनमा हस्ताक्षर हुनुभन्दा अगाडि २ बजेसम्म पनि मैले गरेँ । तर सम्भव नभएपछि विघटन गरेर निर्वाचनमा जानु पर्ने अवस्था आयो ।’

प्रकाशित मिति: : 2021-02-15 12:18:00

प्रतिकृया दिनुहोस्