खेर गएका सरसामानबाट चिटिक्क परेका झोला

देशसञ्चार

काठमाडाै‌ं

सपना न्‍यौपाने

‘क्रियटिभ’ काम गर्न मन लाग्थ्यो उनलाई। धेरै समय बुटिकमा काम गरिन्। त्यो काम गर्दागर्दै केही नयाँ काम गर्ने इच्छा बढ्दै गयो। कसरी खेर गएका चिजहरुलाई उपयोग गर्न सकिन्छ भनेर खोजी गर्न थालिन्। अन्ततः केही समयको खोज र पर्खाइ पश्चात आफ्नो रुची अनुसारको काम सुरु गरिन्।

उनले कहिले मकैका खोस्टा, कहिले थाकल, कहिले काँच त कहिले परालबाट झोला बनाउँछिन्। व्यवसायिक रुपमा उनले यो काम सुरु गरेको तीन वर्ष भयो।

स्वदेशमा मात्र नभइ विदेशमा पनि झोलाको व्यापार विस्तार गरेकी छन् झापाकी देविका बुढाथोकीले। विगत तीन वर्षदेखि चीनमा झोला पठाउँदै आएकी उनी अहिले अहिले आफ्नो उत्पादन अष्ट्रेलिया र जापानमा पनि पठाउँछिन्।

चीनमा झोला पठाउँदा अन्य देशमा भन्दा कम मुल्य पाउने भएतापनि आफ्नो पहिलो ग्राहक भएकाले कन्ट्र्याक्ट नछुटाएको उनको भनाइ छ।

व्यापार प्रवर्द्धन गर्ने क्रममा अहिले झोला मात्र नभइ खुत्रुके, ह्याट, चकटी, गलैँचा, डाइनिङ म्याट लगायत विभिन्न सामान बनाउँछिन् देविका। उनका अनुसार अहिले युरोपमा खुत्रुके माग छ। त्यसैले उनी अहिले काँचको खुत्रुके बनाइरहेकी छन्।

देशसञ्चारसँगको कुराकानीमा उनले भनिन्, ‘मार्केटमा जे–जे डिमाण्डहरु आउँछ हामी त्यही अनुसार आफ्नो कामलाई विस्तार गर्छौँ। एउटा मात्र सीमित हुन्छ भन्ने चाहिँ हुँदैन।’

प्रकाशित मिति: : 2021-02-15 16:58:00

प्रतिकृया दिनुहोस्