प्रधानमन्त्रीले उद्योग–व्यवसायीलाई भने– उत्पादन बढाउने काम गर्नुस् 

प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले  उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा बढी ध्यान दिन उद्योग–व्यवसायीहरूलाई आह्वान गरेका छन्। 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित  राष्ट्रिय उद्योग–यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘सकेसम्म हाम्रा जमिन, जंगल, जडिबुटी आदिको कसरी अधिकतम् सदुपयोग  गर्न सकिन्छ। त्यतापट्टि लाग्नुस्। सरकारले पूर्ण सहयोग गर्छ। यो सरकार हुतिहारा खालको होइन, केही गरौं भन्ने दृढता भएको सरकार हो’, उनको भनाइ थियो। 

प्रधानमन्त्रीले कोभिड—१९का कारण प्रतिकूल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताए। उनले भने, ‘बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ–व्याज तिर्नसक्ने अवस्था हुनुपर्छ।’ 

कोभिड–१९ले पारेको प्रतिकूल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत उल्लेख गरेका थिए।  

प्रधानमन्त्रीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गरे। पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको बताउँदै उनले भने, ‘पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ’ , प्रधानमन्त्रीले भने। 

सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपी ओली’ केपिओली’ केपिओली’ मात्र भनेर गाली गर्ने गरेको तर देश र दुःख पाएका जनतालाई नसम्झिएको पनि प्रधानमन्त्रीले उल्लेख गरे। ‘कसरी निदाउनु हुन्छ होलाउहाँहरु! यसो झकाउन थाल्यो– केपी ओली ! यसो झकाउन थाल्यो– केपी ओली’, प्रधानमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति: : 2021-02-15 18:05:00

प्रतिकृया दिनुहोस्