न्यायाधीशकै अगाडि इजलास अधिकृतमाथि ‘फाँटवालाको मुक्का’, यस्तो छ विवादको कारण

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौँः देशकै सबैभन्दा धेरै मुद्दा भएको जिल्ला अदालत। दैनिक सयौँ पेसी चढ्छन्, आधाभन्दा बढी त स्थगित नै हुन्छन्। सोमबार पनि इजलास मुद्दाका पक्ष बिपक्षले भरिएको थियो। तर अदालतको १४ नम्बर इजलास प्रारम्भ हुनसाथ अतिरञ्जित भयो। जतिबेला सुनुवाइ नै प्रारम्भ भएको थिएन।

घटना काठमाडौँ जिल्ला अदालतको हो। 

न्यायाधीश प्रकाशचन्द्र अधिकारी मुद्दाको मिसिल अध्ययन गर्दै थिए। एकाएक कुटपिट सुरु भयो। झगडाले अन्य इजलास नै प्रभावित भए। नजिकैका इजलासको केही समय स्थगित नै भयो।

पिटाइ खाने इजलास अधिकृत थिए गोकर्ण शर्मा, कुट्ने नायब सुब्बा थिए नेत्रप्रसाद बास्तोला। यद्पि दुबैले पहिले अर्कोले आक्रमण गरेको दाबी गरेका छन्। इजलासले नायब सुब्बा बास्तोलालाई घटनाबारे जवाफ दिन आदेश नै गरिसकेको छ। बास्तोलाले छानबिन गरिपाउँ भनी अर्को निवेदन पनि दर्ता गरिसकेका छन्।

नाकमा चोट लागेका शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

अरुको विवाद मिलाउने अदालतमा आफ्नै कर्मचारी भने हातपतमा उत्रिए। शर्माको नाकबाट रगत बगेपछि प्रहरीको सहयातमा सिभिल अस्पताल लगिएको थियो। सिभिलबाट ट्रमामा पठाइएको हो। अदालतमा प्रहरीले अस्पताल पुर्‍याएको हो।

काठमाडौँ जिल्ला अदालतका रजिस्टार भीमबहादुर निरौलाले घटनाबारे छानबिन भइरहेको बताए। निरौलाले भने, ‘कुटपिट भएको रहेछ। हामी यस विषयमा अनुसन्धान गरिरहेका छौं। गल्ती देखिए कारबाही हुन्छ।’

प्रकाशित मिति: : 2021-02-15 21:37:00

प्रतिकृया दिनुहोस्