स्वस्थानी व्रत किन बस्नुहुन्छ ?

सरिशा अछामी

 ‘आज मन्दिरभित्र जुत्ता लगाएर प्रवेश गरिरहेका छन् त ?’ सालीनदी मन्दिर प्रवेश गेटमा उभिएका युवायुवती गफ गर्दै थिए। 

उभिएकामध्ये कोही जुत्ता राख्ने ठाउँ हेरिरहेका थिए, कोही भक्तजनको लाइनमा जुत्ता लगाएका छन् कि छैनन् जाँच गर्दै थिए। 

साँखुको सालीनदीस्थित मन्दिर प्रवेशको दुई सय मिटर अगाडिदेखि नै गत शुक्रबार मानिसको भीड देखिन्थ्यो । मन्दिर प्रवेश गर्ने सडकको फुटपाथ दुवैतर्फ फूलपाती, कपडा, भाँडाकुडा, खानेकुरा, हस्तकलाका साम्रगीले भरिएको थियो। 

उनीहरूमध्ये कोही ‘फूलपाती लिएर जानुस्, १० रुपैयाँ मात्र’ भनेर चिच्याउँदै थिए । होटल चलाएकाहरु ग्राहकलाई बोलाउँदै थिए, ‘खाना–खाजा सस्तोमा, यहाँ ट्वाइलेट पनि छ।’

प्रवेशको बायाँतर्फ फूलपाती पसल राखेका ५१ वर्षीय उपेन्द्रमान सिंह ठूलो आवाजमा भन्दै थिए, ‘पुरानो फूलपाती पसल यही हो, सदावहार रहिरहने।’ 

‘तपाईंले यहाँ व्यापार गर्न थालेको कहिलेदेखि हो ?’ 

उनले हाँस्दै भने, ‘१०–१५ वर्ष भयो । म माघ महिनामा मात्र होइन, बाह्रै महिना यहीँ बस्छु । धेरैले मेरो पसलबाटै फूलपाती किन्छन् ।’ 
उनले पूजा गरेर फर्कंदै गरेको पुरुषको समूहलाई देखाउँदै भने, ‘ऊ हेर्नुस्, उनीहरुले पनि मेरो पसलबाट पूजाका सामान किनेर लगेका हुन्।’

तीन–चारजना पुरुष पूजाको थाली बोकेर मन्दिरबाट निस्कँदै थिए । तीमध्ये ५१ वर्षीय पदम न्यौपाने भन्छन्,  ‘म स्वस्थानी व्रत बस्दै आएको छु ।’ उनले बिहान नुहाएर र  साँझ हातमुख धोएर स्वस्थानी कथा पढ्छन् । उनी भन्छन्, ‘यो एक महिना माछा–मासु खान्नँ । अन्य साधारण खाना खाएर व्रत बस्छु।’
 

प्रकाशित मिति: : 2021-02-16 21:12:00

प्रतिकृया दिनुहोस्