‘भ्रष्टाचार जसले गरे पनि उन्मुक्ति पाउनु हुँदैन’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राई प्रशासनिक क्षेत्रमा यो कवि बनाएका पूर्वसचिव हुन्। भ्रष्टाचारमा ठूला र साना माछा नहुले धारणा राख्ने राई भन्छन, ‘ठूलो, सानो वा पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने छैन ।’ प्रस्तुत - प्रमुख आयुक्त राईसँग अखण्ड भण्डारी र सुरेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंश :

चुनौतीपूर्ण अवस्थामा अख्तियारमा आउनुभयो, कसरी अगाडि बढ्नुहुन्छ ?
देशको वर्तमान अवस्थामा आयोगमा काम गर्नु चुनौतीपूर्ण नै छ। देशमा सुशासनको अवस्था कमजोर छ। संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि भ्रष्टाचारको मात्रा बढेको भन्ने जनगुनासोमा वृद्धि भएको छ। नागरिक समाज र आम नागरिकको अपेक्षाबमोजिम भ्रष्टाचार नियन्त्रण गर्न आयोगको संस्थागत सुदृढीकरण गरी आयोगका आयुक्तहरू र कर्मचारीहरूसमेतको ‘टिमवर्क’का रूपमा काम गर्दै अगाडि बढ्नेछु।

स्वागत कार्यक्रममै साख बचाउनुपर्ने चुनौती छ भन्नुभयो, यसको तात्पर्य के हो ?    
 म र मसँगै पदभार ग्रहण गर्नुभएका आयुक्तहरूलाई आयोगमा जुन भव्य स्वागत भयो, त्यसपछि समाजका विभिन्न क्षेत्रका शुभचिन्तकबाट जुन सद्भाव र शुभकामना व्यक्त भयो, त्यसभित्र अपेक्षा पनि लुकेको पाउँछु। भ्रष्टाचारजन्य क्रियाकलाप निरुत्साहित हुन मुलुकको समृद्धिको यात्रामा आयोग सारथि बन्न सकोस् भन्ने अपेक्षा अनि विश्वास पनि राखेको पाएको छु।

मैले यही अपेक्षा र विश्वास पूरा गर्नुपर्ने चुनौती छ भनेको हुँ। आयोग मात्र एक निकाय हो जसले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। हाम्रो कार्यकालमा जनअपेक्षाबमोजिम काम गरेर आयोगको छविलाई अझ उचाइमा पुर्‍याउन सकिएन भने आयोगको साखमा वृद्धि हुँदैन भन्न खोजिएको हो।

अख्तियार समक्ष कस्ता—कस्ता चुनौती छन् ?
आयोगमा वार्षिक २५ हजारभन्दा बढी उजुरी पर्छन्, यिनको प्राथमिकीकरण गर्नु, देशभरमा हुने वा भइरहेका अनियमितता उपर निगरानी राख्नु, सूचना प्राप्त गर्नु, आयोगको अनुसन्धान तथा अभियोजन प्रणालीलाई तथ्यपरक र वस्तुनिष्ट बनाउनु, भ्रष्टाचार गर्ने पदाधिकारी नछुटोस् र निर्दोष नफसोस् भनेर सजगतापूर्वक काम गर्नु, जनविश्वासलाई शिरोपर गर्दै निष्पक्षतापूर्वक कार्य सम्पादन गर्नु, निराधार हल्ला र अनावश्यक टिप्पणीलाई कामले नै जवाफ दिनुलगायत चुनौती छन्।

संवैधानिक निकायको निष्पक्षता कायम गर्न के गर्नुहुन्छ ?
हाम्रो संवैधानिक व्यवस्थाले स्वतन्त्र र निष्पक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिकल्पना गरेको छ। संविधानमा निर्धारित काम, कर्तव्य, अधिकारको प्रयोग तथा कानुनी व्यवस्थाअनुरूप गरिने कार्य सम्पादनले आयोगलाई निष्पक्ष बनाउँछ। संवैधानिक व्यवस्थाबमोजिम काम गर्न सबै पक्षबाट सहयोग र उचित वातावरण हुनुपर्छ। कुनै आग्रह, पूर्वाग्रहबाट माथि उठेर संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार काम गरिनेछ। ठूलो सानो वा पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने छैन। यही मूलमन्त्र हो निष्पक्षताको।

भ्रष्टाचार नियन्त्रणमा तपाईंको कार्ययोजना के छ ?
आयोगले भ्रष्टाचार नियन्त्रणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक एवं संस्थागत क्षमता विकासको रणनीति लिएको छ। यसको आवश्यक परिमार्जनसहित विस्तृत कार्ययोजना तयार गरी अघि बढ्नेछौं। यसबाहेक हामीसँग आयोगको रणनीतिक कार्ययोजना पनि छ, त्यसलाई समयसापेक्ष परिमार्जनसहित कार्यान्वयन गर्नेछौं। अघि पनि मैले उल्लेख गरेँ कि सर्वसाधारणको बढी सरोकार हुने सार्वजनिक सेवा प्रवाहमा हुने अनियमितता तथा घुसखोरी रोक्ने, विकास निर्माणमा देखिएका भ्रष्टाचारजन्य कार्यलाई कानुनी दायरामा ल्याउने कुरा कार्ययोजनामा समेटिनेछन्। यसबाहेक संस्थागत सुदृढीकरणका माध्यमबाट आयोगको अनुसन्धानलाई गुणस्तरीय र प्रभावकारी बनाउने विषय रहनेछन्।

प्रकाशित मिति: : 2021-02-17 12:55:00

प्रतिकृया दिनुहोस्